Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुत्केरीको हेलिकोप्टरबाट उद्धार


    आइतबार, बैशाख ११ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्ककी २९ वर्षीय विमला थापा राईलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ । 

    गर्भमा जुम्ल्याहा बच्चा रहेकी विमलाले शनिबार साँझ ५:२० बजे छोरी जन्माएकी थिइन् । तर, नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १६ घण्टा बित्दासमेत दोस्रो बच्चा नजन्मिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो । आइतबार होलिकोप्टरमा राखेर प्रसुतीगृह थापाथली पुर्‍याइएकी विमलाले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी छन् । 

    सुत्केरी व्यथा लागेपछि विमलालाई शनिबार दिउँसो १ बजे प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा भर्ना गरिएको थियो । एउटा बच्चा जन्माए पनि दोस्रो बच्चा लामो समयसम्म नजन्मिँदा गर्भवतीको अवस्था नाजुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रकी सिअहेव निर्मला शर्माले बताइन् । 

    जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव वेदनाले छट्पटिरहेका गर्भवतीको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो ।

    ‘उहाँको गर्भमा जुम्ल्याहा बच्चा रहेछ । हिजो साँझ छोरी जन्माउनु भयो तर अर्को बच्चा जन्माउन सक्नु भएन,’ सिअहेव शर्माले भनिन्, ‘जन्मिएको बच्चालाई अक्सिजन कम भयो । लामो समयसम्म अर्को बच्चा जन्माउन नसक्दा उहाँलाई गाह्रो भयो । त्यही भएर काठमाडौं पठाइएको हो ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार