Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको जिल्लामा राप्रपाविरुद्ध गठबन्धनको तयारी


    आइतबार, बैशाख ११ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • झापा ।  झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धनको तयारी गरेका छन् । केन्द्रमा एमालेबाहेक पाँच दलीय सत्ता गठबन्धन बनिरहेको वेला कचनकवलमा भने प्रमुख प्रतिपक्षी एमाले र सत्तापक्षीय दलबीच गठबन्धनको तयारी भएको हो । 

    राप्रपाको आधार मानिएको कचनकवलमा एमाले र कांग्रेसको गठबन्धनको तयारी भइरहेको एमाले कचनकवलका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । त्यही कारण एमालेले आइतबार मनोनयन दर्ता नगराएको उनको भनाइ छ । 

    सोमबारसम्म नेकपा माओवादी केन्द्र पनि गठबन्धनमा आउने गरी  छलफल अघि बढिरहेको उनले बताए । ‘यसअघिसम्म अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल गर्ने गरी छलफल अघि बढिहरेको थियो । माओवादी केन्द्र पनि आउने गरी छलफल अघि बढेपछि वडा तहसम्म गठबन्धन हुन्छ,’ भट्टराईले भने, ‘सोमबार मनोनयन दर्ता गर्ने बेलासम्म यसको टुंगो लाग्नेछ ।’ 

    यो गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका अञ्जारा आलमले विजयी हासिल गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँपालिका राप्रपाको उर्वर गाउँ हो । यो गाउँपालिकामा राजतन्त्रको अवशेष कायम रहेकाले लोकतान्त्रिक दलको गठबन्धन आवश्यक रहेको भट्टराईले बताए । ‘यो गाउँपालिकामा राजतन्त्रको अवशेष बाँकी छ । यसलाई निस्तेज पार्न लोकतान्त्रिक पार्टीबीच गठबन्धन गर्न लागेका हौं,’ उनले भने । 

    यहाँ कांग्रेसलाई अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर तालमेल गर्ने गरी छलफल अघि बढिहरेको भट्टराईले बताए । कांग्रेसले अध्यक्षमा कालेन्द्र राजवंशीको नाम अघि सारेको छ भने एमालेबाट उपाध्यक्षमा भट्टराई कै नाम अघि छ । यद्यपि कांग्रेसले भने गठबन्धनका लागि एमालेसँग सामान्य छलफल मात्र भएको जनाएको छ । गाउँसभापति तुलसीराम अधिकारीले तालमेल भने भइनसकेको बताए । ‘हामीलाई कार्यकर्ताको दबाब छ । एकल चुनाव लड्नुपर्ने अवस्था आउला जस्तो छ,’ उनले भने, ‘एमालेसँग छलफल भएको हो । तर, कुनै सहमति भएको छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार