झापा । १४ वर्षअघि भएको हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षअघि कुटपिट गरी हत्या गरेको अभियोग लागेका ४१ वर्षीय बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । उनी झापाबाट पक्राउ परेका हुन् ।
यसअघी विश्वकर्मा दुबई, भारतलगायत नेपालकै विभिन्न जिल्लामा लुकीछिपी नाम परिवर्तन गरी बस्दै आएक थिए। उनले ०६३ साल चैत २४ मा ३५ वर्षीय नत्थु विश्वकर्मालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घाइते नत्थुको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि नत्थुका ससुरा रामबहादुर विकले प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटना लगत्तै फरार रहेका पुण्यप्रसादलाई प्रहरीले असार ३० गते पक्राउ गरेको बताइएको छ ।
प्रहरीले अहिले अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेको छ ।