काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना कालको लागि भिसाको नियममा गरको विशेष व्यवस्था खारेज गरेको छ । यो सँगै यूएईमा रहेका भिजिट भिसाधारीले दुई विकल्प पाएका छन् ।
यूएईमा थुप्रै नेपालीहरु भिजिट भिसामा गइ काम खोज्ने गरेका छन् । यूएईको भिसा सम्बन्धी विशेष व्यवस्था खारेजमा भएसँग उनीहरुलाई प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नयाँ नियम जुलाई १२ देखि नै कार्यान्वयनमा आएको छ ।
यूएईले पर्यटक भिसा सकिएकोले ११ अगष्टसम्म देश छाड्न वा नयाँ भिसाको लागि आवेदन गर्नका लागि सूचना जारी गरेको छ । देश फर्कनेका लागि यूएईले एक महिनाको समय दिएको छ । पर्यटक भिसाधारीलाई जुलाई १२ देखि अगष्ट ११ सम्म आफ्नो देश फर्कंदा कुनै जरीवाना लाग्दैन ।
यूएईले कोरोनाको कारण यसअघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधि बढाउने भनिएको नियम खारेज गर्दै नयाँ नियम ल्याएको थियो । नयाँ नियम अनुसार मार्च र अप्रिल महिनामा भिसा अवधि सकिएकाहरुले जुलाई १२ देखि १ महिनाभित्र नयाँ भिसा लगाइ सक्नुपर्ने या अगष्ट ११ सम्म यूएई छाड्न पर्ने जनाइएको छ ।
जुन १ देखि जुलाई ११ सम्ममा भिसाको अवधि सकिएकाले सेप्टेम्बर १० देखि एक महिनाभित्र नयाँ भिसा लिनु पर्नेछ । जुलाई ११ भन्दा पछि भिसाको म्याद सकिएकाले भने पहिलेकै नियम अनुसार नयाँ भिसाका लागि प्रक्रिया गर्नुपर्ने यूएई सरकारले जनाएको छ ।
बिदामा यूएईभन्दा बाहिर रहेका तर कोरोनाको कारण फर्कनुपर्ने समयमा फर्कने नसकेकाको हकमा भने दुई देशबीच उडान सुरु भएको एक महिनाको अवधिलाई ग्रेस अवधि भनेर दिएको छ । यूएईभन्दा बाहिर रहेका भिसाको अवधि सकिएकाहरुले नियमित उडान सुरु भएको एक महिनाभित्र यूएई गएर नयाँ भिसा लिनुपर्ने नियम बनाइएको छ ।