Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, यी मन्त्रीले कुनै जिम्मेवारी लिननुपर्ने ?


    शुक्रबार, साउन २ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा केही काम हुन नसकेको, भ्रष्टाचार मात्र बढेको भन्दै पार्टीभित्र उनको राजीनामा माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिका केही सदस्यहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका छन् । स्थायी समितिका केही सदस्यहरुबाट राजीनामा मागिएपछि स्थायी समिति बैठक लगातार स्थगित हुँदै २०७७ साउन २ गते पुगेको छ । ओलीको सरकार असफल हुनुमा उनी मात्र जिम्मेवार छन् त ?

    सरकारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको कोटाबाट मन्त्री हुनेहरु चाहिं सफल भएका छन् त ? राम्रा काम गरेका छन् त ? पार्टीको नीतिअनुसार उनीहरुले काम गरेका छन् त ? यो प्रश्न पनि उठेको छ । भागवण्डामा मन्त्री पठाउने र ती मन्त्रीहरुले कुनै कार्यक्षमता देखाउन नसक्ने तर त्यसको दोष सबै प्रधानमन्त्री केपी ओलीमाथि हाल्ने नेकपा नेतृत्वको कदमलाई पनि नेता-कार्यकर्ताहरुले उपयुक्त ठानेका छैनन् । प्रचण्डको कोटामा खानेपानी मन्त्री भएकी उनकी बुहारी बिना मगरले पद सम्हाल्नासाथ २०७४ साल दशैंमा मेलम्चीको पानी काठमाडौंको घर घरमा पुग्ने भाषण गरिन् । तर ३ वर्ष बितिसक्दा पनि २०७७ सालको दशैंमा पनि मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने सम्भावना देखिएको छैन ।

    इटालियन ठेकेदार कम्पनी सीएमसी भाग्न लागेपछि मात्र मन्त्रीले चाल पाइन । यस्ता असक्षम मन्त्रीले चाहिं जिम्मेवारी बोक्नु नपर्ने ? तिनै मन्त्री मगरका सचिवालयमा राखिएकाहरु प्रधानमन्त्री ओलीविरुद्ध सडक प्रदर्शनमा समेत सहभागी हुने गरेको देखिन्छ ।

    मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ ९२६ किमि मार्गभित्रको गेट मंगलबार एक्कासी फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो । मेलम्ची आयोजनाको पानी नआउँदै यस्तो दुर्घटना भएको जिम्मेवारी बिना मगरले लिने कि नलिने ?

    बिना मगर एक उदाहरण हुन्, प्रचण्डका कोटामा नियुक्त भएका वनमन्त्री शक्तिबहादुर बस्नेतले समेत सिन्को भा“च्न सकेका छैनन् । माधव नेपालको कोटामा मन्त्री भएकाहरुको अवस्था पनि त्यस्तै छ । तर दोष जति सबै केपी ओलीको टाउकोमा राख्नु कति उचित हो ? यो प्रश्न नेकपाका कार्यकर्ताहरुबीच उठ्ने गरेको छ ।

    प्रचण्डको कोटामा मन्त्री भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मलेसिया जाने कामदारस“ग गैरकानूनीरुपमा करिब २ अर्ब ठगी गर्ने कैलाश खड्कालाई वैदेशिक रोजगार बोर्डको सदस्य बनाए । मन्त्री यादवले करोडका बिटा घुस लिएर सदस्य बनाइएको आरोप लागेको छ । खड्कामाथि २ अर्ब ठगी गरेको आरोपमा यस अघिका श्रममन्त्री गोकर्ण विष्टको पालामा प्रहरीले ठगी मुद्दा चलाएको थियो । खड्का वैदेशिक रोजगारीमा जाने कामदारस“ग बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा चर्काे शुल्क असुली गर्ने नाइके हुन् । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको संरक्षणमा उनले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली भित्र्याएर चर्काे शोषण गरेका थिए । यस्ता ठगीमा मुछिएकालाई प्रचण्डका मन्त्रीले घुस खाएर बोर्ड सदस्य बनाए । तर यसको दोष पनि केपी ओलीमाथि नै थोपरिएको छ । प्रचण्ड, माधव नेपालजस्ता नेताहरुको कोटामा मन्त्री हुनेहरुले निहीत स्वार्थपूर्तिका लागि मनपरी गर्ने तर दोष भने सबै केपी ओलीले मात्रै बोक्नुपर्ने ? कोटामा मन्त्री भएकाहरुले केही जिम्मेवारी लिनुनपर्ने ? यो प्रश्न नेकपा बृत्तमा उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार