काठमाडौं । विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै नो अब्जेक्सन लेटर (एनओसी) पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेसँगै अब सहज रुपमा अनुमति लिन सकिने भएको छ ।
यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने व्यवस्था थियो । कोरोना संक्रमण र लकडाउनका कारण एनओसी दिन रोक लगाइएको थियो । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने निर्णय गरेपछि मन्त्रालयले अनलाइन आवेदन दिने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब वेबसाइट मार्फत नै एनओसीको लागि आवेदन दिन सकिने र आवेदन स्वीकृत भए नभएको बारे पनि विद्यार्थीलाई अनलाइनबाटै जानकारी दिइने भएको छ ।
आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्नेछ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी शिक्षामन्त्री गिरिराजमणि पाखेरेलले अनलाइन पद्धतिको सुरुवात गरेको जनाएको छ । गत आर्थिक वर्षमा ६३ हजार विद्यार्थीले विदेश अध्ययन गर्न जान अनुमति लिएका थिए । सबैभन्दा बढी अस्ट्रेलिया जानका लागि अनुमति लिइएको छ ।