काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका पदाधिकारीका कारण कर्मचारीहरूले २०४६ देखि नियम अनुसार पाउँदै आएको औषधि खरिद खर्च गएको चैतमा पाउनुपर्नेमा हालसम्म पाएका छैनन् भने १० औं बर्षदेखिको प्राविधिक ग्रेडसमेत पाउन सकेका छैनन् ।
सयौं कर्मचारीले प्रतिष्ठान पदाधिकारीलाई लिखित र मौखिक जानकारी गराउँदै माग गरे पनि हालसम्म स्वास्थ्य सेवाका कर्मचारीलाई सो सुविधा दिएका छैनन् । माग सुनुवाइ नभएपछि कर्मचारीहरु आन्दोलनको तयारीमा छन् ।
अस्पतालमा भएको फाइवर स्क्यान(कलेजो जाँच गर्ने मेसिन), डिएलसियो (फोक्सो जाँच गर्ने) सी आम(अप्रेसन गर्ने मनिटर), आईसीयु, युरोफो मिटर(पिसावको धाराको प्रतिशत नाप्ने) जस्ता उपकरण संचालन नगर्ने तर कोरोनाको नाममा कर्मचारीले खाइपाई आएको सुविधा रोकिएकोमा कर्मचारी रुष्ट भएका छन् । न्याम्सका पदाधिकारीले १ लाख ५० हजार रुपैयाँसम्म भत्ता पाउने गरेका छन् । तर कर्मचारीको भने सुविधा काटिएकोमा कर्मचारी आन्दोलनको तहमा पुगेका हुन् ।
जाइका भवन पूर्ण संचालनका लागि सरकारले दिएको १० करोड बजेटसमेत आफ्नो मानिसलाई टेण्डर नपरेपछि फ्रीज गराइएको छ । दुवाकोटको जग्गामा अस्पताल निर्माणका सरकारले डीपीआरका लागि सरकारले दिएको ४० करोड पनि फ्रीज भएको छ । अस्पतालका भीसी डा.डीएन साह र निर्देशक डा. केदार सेन्चुरीले आफूले भनेको मानिसलाई काम दिन नसक्ने भएपछि उक्त रकम पनि फ्रिज भएको छ ।
जाइकाले बनाएको भवन संचालन गर्न नसक्ने र दुवाकोटमा अस्पताल निर्माणको प्रक्रिया सुरु नगरी कमाई भएन भन्दै कोरोना संक्रमणको महामारीमा समेत कर्मचारीलाई तलव भत्ता, औषधि खरिद खर्च दिएका छैनन् । अस्पतालमा भएको पैसा भने अनावश्यक सामान खरिद गरी ब्यापारीलाई भुक्तानी दिंदै कमिसन लिने गरेको आरोप अस्पतालका पदाधिकारीमाथि लाग्ने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु संचालनका लागि दिएको १० करोड काम गर्न नसकेर फिर्ता भएको छ अस्पताल प्रशासन र लेखाका कर्मचारी भन्छन्– न्याम्सका जस्ता नालायक र असक्षम पदाधिकारी कोही छैनन् । कर्मचारीहरुले यस बिषयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसमक्ष यो बिषयमा कुरा गरी भेटघाट गरी समस्याको बारेमा कुरा गरिसकेका छन् । मन्त्री ढकालले पदाधिकारीहरु भिसी, रजिष्टार, डिन, रेक्टर र निर्देशकमा कुनै योजनै छैन, दिएको पैसासमेत फिर्ता हुन्छ, मैलै मात्र के गर्ने भन्ने जवाफ दिएका थिए । उनले सर्जिकल भवन तयारी हुँदैछ तर हालसम्म सर्वे गर्नै नसकेकोबारेमा पनि बताएका थिए ।
वीरका पदाधिकारीको अक्षमताले जाइकाले बनाइदिएको भवन पूर्णरूपमा संचालनमा आउन सकेको छैन । वीर अस्पतालले कोरोनाको उपचार गर्नै सकेको छैन । कोरोना भत्ता आफू निकटलाई दिन गोप्य पत्राचार गरेका छन् । अस्पतालमा भएको बस थन्क्याएर भाडामा दैनिक ८ हजार ५ सय रुपैयाँ बस भाडामा लिई संचालन गरिरहेका छन् । कमिसनकै कारण भएको बस नबनाई थन्क्याइएको छ । अस्पतालको यो अनियमितता गर्ने समूह पदाधिकारी र उनीहरुसँग निकट ५ जना रहेका छन् ।
यस्तो बेथितिका कारण अस्पताल कर्मचारी युनियन र सबै पार्टीनिकट संघ संगठन आन्दोलनको तयारीमा जुटेका छन्् । युनियनका एक नेताले भने, स्वास्थ्यमन्त्री पनि भ्रष्ट पदाधिकारीलाई कारबाही गरी नयाँ टिम ल्याउन लागेका छन् । पदाधिकारीले नियम बिपरीत खरिद र कर्मचारी भर्ना गरेर करोडौं भ्रष्टाचार गरेका छन्, आफूहरु मासिक लाखौं भत्ता लिन्छन् । तर कर्मचारीले पाउँदैआएको सुविधा पनि कटौती गरेपछि आन्दोलनमा जानुको विकल्प भएन ।