काठमाडौं । करिब ४० अर्ब ऋणभार बोकेको नेपाल वायुसेवा निगमले विगतमा करारमा राखेका मन्त्रीदेखि सचिव र निगमका ट्रेड युनियनका नेताहरुका आफन्तलाई हटाउने भएको छ । नोक्सानमा गएको निगममा कामै नभए पनि १ सय ४५ जना करारमा कर्मचारी राखिएका छन् । राखिएकामध्ये पनि प्रायः सबै तीन तहसम्मका बढी छन् ।
निगमका ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले श्रीमती बबिता बिष्टलाई निगममा करारमा राखेका छन् । यस्तै अरु ट्रेड युनियनका नेताहरुले पनि आफन्त जागिर लगाएका छन् । डाँगीकी श्रीमती बिष्टलाई सुगतरत्न कंसाकारले करारमा राखेका हुन् । कंसाकारका पालामा ट्रेड युनियन अध्यक्ष डाँगीको मिलेमतोमा आर्थिक चलखेलमा करारमा थुप्रै कर्मचारी भर्ना गरिएको थियो । ट्रेड युनियन नेताहरूले करारमा कर्मचारी राख्दा समेत फाइदा लिंदै राखेको आरोप छ ।
निगमका हाकिमहरुका आफन्त पनि उत्तिकै छन् । तर कोरोना महामारीले हवाई क्षेत्र थला परेको र ४० अर्ब ऋण भएकाले करारका कर्मचारी पाल्न नसक्ने भएपछि निगमले उनीहरुको करार सम्झौता नगर्ने भएको छ । निगममा ४ सय ५० करारका कर्मचारी छन् । ती मध्ये अत्यावश्यक पर्ने राखेर १ सय ५० जनाको करार नवीकरण नगर्ने निर्णय गरेको छ ।
साउन १ देखि नेपाल वायुसेवा निगमले करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने भएको छ । ‘अनाबश्यक’ जनशक्तिहरुलाई कटौती गरेर सुधार गर्ने योजनाअनुरुप निगमले १ सय ४५ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।