Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात व्यवसायीलाई प्रचण्डको साथ, राहत व्यवस्थाकाे पहल गर्ने आश्वासन


    बिहिबार, साउन १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवसायीले बिहीबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

    यातायात क्षेत्रको समस्या समाधान गर्नका लागि बनाइएकाे कार्यदलकाे प्रतिनिधिले आज बिहान प्रचण्डसँग खुमलटारमा भेटेका हुन् । भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे जानकारी दिएका थिए।

    यातायात व्यवसायीको कुरा सुनेपछि प्रचण्डले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए। यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने प्रचण्डले बताएका हुन् ।

    ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ’, उनले भने, ‘यहाँ पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ।’

    उनले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताए।

    व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन्।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार