Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीकाे विवादित अभिव्यक्तिबारे कांग्रेसले के भन्याे ?


    बुधबार, असार ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे विवादित अभिव्यक्तिकाे विराेधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नाे धारणा सार्वजनिक गरेकाे छ । 

    बुधबार कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रम ओलीले अयोध्याबारे दिएको विवादित अभिव्यक्तिले केही गम्भीर प्रश्न सिर्जना गरेको बताएका छन् ।

    प्रमकाे अभिव्यक्ति नेपाल सरकार र नेकपाकाे हाेइन भन्दै मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेकाे थियाे । यस्ताेमा नेपाली कांग्रेसले साे अभिव्यक्ति नेपाल सरकार र नेकपाको होइन भने प्रम ओलीमा शासन गर्ने नैतिक र राजनैतिक आधार नभएकाे समेत दावी गरेकाे छ । 

    उनले भनेका छन्, ‘प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ— देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

    अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दुर्भाग्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताएका छन् । 

    प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएकोमा कांग्रेस स्पष्ट रहेकाे बताइएकाे छ । ‘तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक पनि कांग्रेसले माग समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार