काठमाडौं । साता भयो ‘क्लिन चिट’को पत्र बोकेर सहसचिव चन्द्रमान श्रेष्ठले सामान्य प्रशासनको ढोका ढुक्न थालेको । तर, हिजो (मंगलबार बिहान)सम्म उनको पुरानै दरबन्दी भएको वन मन्त्रालयमा फर्कने चाँजोपाँजो मिलिसकेको छैन ।
अढाई करोड अकुत आर्जनको अभियोगमा डेढ वर्षअघि डामिएका चन्द्रमानले अघिल्लो साता विशेष अदालतबाट सफाइ पाए । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले प्रमाण नपुगेको भन्दै उनीसहित श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीलाई सफाइ सुनायो । चन्द्रमानले अकुत आर्जन गरेको सम्पत्ति श्रीमती र परस्त्री भगवती योगीको नाममा जम्मा गरेको फेला परेपछि उनीहरूविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सफाइसँगै श्रेष्ठ पुरानै दरबन्दी कायम रहेको वन मन्त्रालयमा फर्कने चाँजोपाँजो मिलाउँदै छन् । त्यहाँबाट वनमै फर्कनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा धर्ना जारी छ ।
जतिखेर माओवादी शान्तिप्रक्रियामा फर्कियो र जग्गाको भाउ अकाशियो, श्रेष्ठ कलंकी र डिल्लीबजार मालपोत कार्यालयको हाकिम हुँदा सरकारी खातामा जम्मा गर्नुपर्ने करोडौं रकम हराएको चार्ज लाग्यो ।
बदमासीको पोल खुल्न थालेपछि तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसालले दुर्गम जिल्लामा सरुवा गर्न खोजिन् तर मन्त्रीभन्दा एक जना कर्मचारी यति पावरफूल कि सरुवाको लिस्ट निक्लनुअघि नै नारायणकाजी श्रेष्ठमार्फत सञ्चारमा सरुवा मिलाए । त्यहाँ रहँदा सहसचिवमा बढुवा भए र अर्थ मन्त्रालयतिर हान्निए । बीचमा दुई कार्यकालसम्म यातायात व्यवस्था विभागको महानिर्देशक पड्काए । त्यहाँ रहँदा पूर्वभौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिको दबाबमा शेरबहादुर देउवाका साला भूषणहरूको इन्ट्रेस्टअनुरूप सार्वजनिक सवारीमा इम्बोइस्ड नम्बरप्लेट जोड्ने खेल चल्यो । सात अर्बको यो प्रोजेक्ट सफल भएको भए झण्डै डेढ अर्ब बिचौलियाको हात लाग्ने थियो । तर, यो खेलमा ब्रेक लाग्यो । यही कारण अहिले पनि राज्यलाई ५ अर्बभन्दा बढी चुना लाग्ने अवस्था छ । यो प्रक्रियाउपर अख्तियारले समेत चासो राखेपछि उनी विमलेन्द्रकै जोडबलमा गृह मन्त्रालय तानिए । र, उदयपुर पुगे प्रमुख जिल्ला अधिकारी बनेर । तर, तीन महिना नबित्दै शान्ति सुरक्षा कायम गर्न नसकेको कारण देखाएर पुनः मन्त्रालयमा तानिएका उनी वनमा खटिएका थिए । त्यहाँबाट सरुवा महिला आयोगमा भयो । तर, जब्बर श्रेष्ठ चार महिनासम्म कतै डेग चलेनन् । सदैव मालदार अड्डामा बसेर तर मार्न पल्किएका चन्द्रमान यही बीचमा अघिल्लो वर्ष अकुत आर्जनको मुद्दामा डामिएपछि जगेडामा सामान्य प्रशासनमा तानिएका थिए ।
प्राविधिकको पावर
प्राविधिक कर्मचारीको भूमिका र जिम्मेवारी हुन्छ नाप, नक्सा तयार गर्ने । तर, नाप्नुपर्ने कुरा छाडेर अन्यत्रै (द्रव्य) नाप्न खोज्दा एक महिनामै १० भन्दा बढी प्राविधिक कर्मचारी अकुत आर्जनमा डामिएका छन् । यी कर्मचारीविरुद्ध २६ करोडभन्दा बढी अकुत आर्जन (स्रोत देखाउन नसकेको) चार्ज लगाउँदै अख्तियारले मुद्दा दायर गरेको छ । अघिल्लो महिना भक्तपुरका एक सर्भेयरविरुद्ध मुद्दा दर्ज गरियो । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका नेता राजेन्द्र काफ्ले ५ करोड ४३ लाख २७ हजार बराबरको अकुत आर्जनमा डामिए । यस्तै, सडक विभागअन्तर्गत हाल मध्यपहाडी पश्चिम लोकमार्ग सडक आयोजना तुल्सीपुरमा कार्यरत सिनियर डिभिजनल इञ्जिनियर जितेन्द्र शाक्य १ सय ५ वटा नक्कली कोटेसन बनाई भ्रष्टाचार गरेको अभियोगमा परे । उनीविरुद्ध २ करोड २५ लाख चार लाख १० हजार असुलेको आरोप छ ।
यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जका सिनियर डिभिजनल इञ्जिनियर पूर्णप्रसाद उपाध्याय ३ करोड १० लाख २७ हजार १५३ अकुत आर्जनमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागका तत्कालीन सुपरिन्टेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादव १ करोड ८५ लाख ११ हजार ७२८ को सम्पत्ति स्रोत देखाउन नसकेपछि डामिएका छन् । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका इञ्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४८० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको चार्ज लागेको छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरीका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्यविरुद्ध १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको अभियोग छ । मंगलबार मात्र डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ९ लाख घुस लिँदालिँदै अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । यसरी अकुत आर्जनको अभियोग लागेका कर्मचारीले पनि चन्द्रमानलेझैं सफाइ पाउँछन् कि अभियोग पुष्टि हुन्छ ? त्योचाहिँ हेर्न बाँकी नै छ ।
कांग्रेसीलाई कित्ताकाट
यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कांग्रेसी कर्मचारीलाई छानी–छानी भित्तामा पु¥याउन थालेको छ । अघिल्लो साता ६३ सहसचिवको काज सरुवा हँुदा सत्ताधारी सहसचिवहरू सिंहदरबार वरपर र मालदार निकायमा खटाइए अनि कांग्रेसनिकटलाई छानी–छानी मधेस र दुर्गमतिर लखेटियो । जस्तो भूपाल बराल, शोभाकान्त पौड्याल, सरोज गुरागार्इं, शिव न्यौपाने आदि । भूपाललाई महालेखा नियन्त्रकको कार्यालयबाट २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयतिर खेदिएको छ । यसैगरी, शोभाकान्त पौडेललाई कर्णाली प्रदेशतिर खटाइएको छ । उस्तै, सरोज गुरागार्इं विराटनगरतिर लखेटिएका छन् । तर, सत्ताधारी दलनिकट भनिएका कर्मचारीहरू भने अधिकांश अर्थ, गृह मन्त्रालय र मातहतका निकायतिर सरुवा भएका छन् । जनआस्था साप्ताहिकबाट