Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेटवर्किङ ब्यापारको जालो सिंगापुरसम्म


    बुधबार, असार ३१ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेचर हब्र्स इन्टरनेसनल प्रालि पिरामिड शैलीमा नेटवर्किङ कारोबार गर्ने कम्पनी हो । नेपालीले चलाएको यसको केन्द्रीय कार्यालय सिंगापुरमा छ । नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ, तर त्यही ढाँचामा नेपालीलाई आबद्ध गराएर ठूलो मात्रामा पैसा विदेश पुर्याउने गरिएको पाइएको छ ।

    नेचर हब्र्सले सिंगापुर मात्र होइन, हङकङ, दुबई, मलेसिया, कतार हुँदै नेपालसम्म जालो फिँजाएको तथ्य भेटिएको छ । एसियाली मुलुकसहित विश्वभर कारोबार फैलाउन सजिलो हुने भन्दै सिंगापुरमा कम्पनी दर्ता गरी सञ्चालनमा ल्याएको देखिन्छ ।

    यो कम्पनी सञ्चालन गर्नेमा गितेन्द्रबाबु राई नामका गितेन्द्रबहादुर राई (जीबी राई), उनकी श्रीमती निशा बम्जम राईसहित देवेन्द्र राई, भूपेन्द्र राई, वीरबहादुर रानाभाट, विश्व राई, अनन्तबाबु राई, कुमार रम्तेल, श्रीबल्लव नेपाल, नेत्रपाणि बाँस्तोला, माधव खनाल, विशाल बोहोरा, सन्तोष गौतम, लालकृष्ण नेपाललगायत छन् । नेत्रपाणि बाँस्तोला यसअघि हर्वो इन्टरनेशनल नामक नेटवर्किङ कम्पनीमा आवद्ध थिए ।

    यो कम्पनी सन् २०१८ देखि सिंगापुरमा सञ्चालनमा रहेको स्रोत बताउँछ । सिंगापुर सरकारको एकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेट्री अथोरिटीले कम्पनी ऐनअनुसार नेचर हब्र्स इन्टरनेसनललाई सन् २०१९ मार्च ७ मा अनुमति दिएको थियो । कम्पनीले सोही वर्ष जुन २६ मा प्रमाणपत्र पाएको थियो । प्राप्त प्रमाणअनुसार यो कम्पनी सन् २०१८ फेब्रुअरी २१ देखि नेचर हर्बो इन्टरनेसनल प्रालिको नामबाट सञ्चालनमा आएको थियो ।

    कम्पनी सिंगापुरबाट सञ्चालन हुँदै आएकामा यसको कारोबारलाई हङकङसम्म पुर्याइयो । हङकङ सरकारको कम्पनी रजिस्ट्री कार्यालयले सन् २०१९ जुन २१ मा नेचर हब्र्स इन्टरनेसनल लिमिटेड नामबाट सञ्चालनको अनुमति दिएको थियो। ‘यसमा संलग्नले एक–दुई मुलुकमा होइन, करिब एक दर्जन मुलुकमा नेटवर्किङ कारोबार चलाउने योजनाअनुसार आफ्नो व्यापार र कम्पनी विस्तार गरेका छन्’, स्रोतले भन्यो ।

    हङकङका साथै यो कम्पनीलाई कतारसम्म पुर्याइयो। कतारको अफेयर्स डिपार्टमेन्टबाट सन् २०१९ को जुन २५ मा नेचर हब्र्स ग्लोबल (डब्लूएलएल) दर्ता गरी सञ्चालन गर्ने अनुमति पाएको थियो । कतारमा कम्पनी सञ्चालकमा दोहाका खालिद मोहम्मद एमएएल कुवारी, दोहामा बसोबास गर्ने नेपालका नागरिक गितेन्द्रबाबु राई (यहाँ उनले बहादुरको साटो बाबु उल्लेख गरेका छन्) दोहामै बस्ने नेपालका नागरिक विश्वविक्रम राई र भारत घर भई दोहामा बस्दै आएका शरण चाम्लिङ, बीबी चाम्लिङ रहेको कम्पनीको प्रमाणपत्रमा उल्लेख छ। विभिन्न मुलुकमा विभिन्न नाममा सञ्चालित यो कम्पनीले सदस्य बन्न एक लाख रुपैयाँ शुल्क तोकेको छ। यसका साथै अनिवार्य रूपमा कक्षा पनि लिनुपर्ने भनिएको छ । नेपालीको हकमा २५ हजार रुपैयाँ लिएर सदस्यता वितरण गर्दै आएको छ ।

    सदस्यलाई मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी, विदेश भ्रमण, उपहारमा घर, साढे २ लाखको दुर्घटना बिमा, प्रिभिलेज कार्डलगायत सुविधा उपलब्ध गराउने प्रलोभन दिएको पाइएको छ। प्रिभिलेज कार्डको सहयोगमा अस्पताल, होटल, ट्राभल एन्ड टुर्स, उत्पादन खरिदलगायतमा छुटको व्यवस्था भएको आश्वासन बाँडेको अडियो रेकर्ड समेत रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार