Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहाका सीडीओ कवारीको असुली आतंक


    बुधबार, चैत्र २ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेका कर्मचारीहरु सफाइ पाएपछि झन् बढी अनियमिततामा संलग्न हुने गरेका छन् । त्यसको पछिल्लो दृष्टान्त हुन्–सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी । उनी सिरहाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भ्रष्टाचारको मुद्दा जित्नका लागि अदालत सेटिङमा धेरै रकम खर्च गरेको भन्दै उनले मातहतका कार्यालय र प्रहरीका हाकिमहरुलाई समेत सास्ती दिने गरेका छन् । 

    उनले सिरहाका भारतीय सीमासँग जोडिएका नाकाबाट खुलेआम तस्करीको लाइन दिएर घुस असुली अभियान चलाएका छन् ।  भारतीय सीमाक्षेत्रसँग जोडिएका सिरहाका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट तस्करीको लाइन चलाउन दिएका छन् । ती नाकाबाट निर्वाध तस्करी भइरहेको छ । सीडीओले नै तस्करीलाई प्रोत्साहन गरेपछि प्रहरी र सशस्त्र लाचार भएका छन् । कवारी गएको मंसिरमा सिरहाको प्रजिअमा सरुवा भएका हुन् ।

    भ्रष्टाचारका पर्याय कवारी

    सहसचिव कवारी उपसचिव हुँदा बैदेशिक रोजगार विभाग, कम्पनी रजिष्टार कार्यालय जस्ता आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्ने भनी चिनिएका थिए । उनले कम्पनी रजिष्टार कार्यालयमा उपरजिष्टार हुँदा चितवन मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. हरिशचन्द्र न्यौपानेसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध विशेष अदालतमा २०७० मंसिर १४ मा मुद्दा दायर गरेको थियो । कवारी र चार्टर्ड एकाउण्टेण्ट भानु कँडेलविरुद्व मुद्दा दर्ता गरिएको थियो ।

    मेडिकल कलेजको निरीक्षण प्रतिवेदन दुईवटा बनाएर मेडिकल कलेजका प्रबन्ध सञ्चालक न्यौपानेबाट २० लाख रुपैयाँ घुस लिएको उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको थियो । छानविनका क्रममा दुईवटा प्रतिवेदन तयार पारेर न्यौपानेलाई घुस दिन बाध्य पारेको भन्दै अख्तियारले दुवैजना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    विशेष अदालतले २०७२ असार ३ मा कवारीलाई ६ महिना कैद र पाँच लाख रुपैयाँ जरिवाना गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । तर सधैं आकर्षक कार्यालयमा बसेका कवारी सर्वोच्च अदालतमा गए ।

    Screenshot (10).jpg
    विशेष अदालतले कवारीलाई ६ माहिना कैद र ५ लाख जरिवाना गर्न दिएको आदेश

    सर्वोच्चमा सेटिङ गरी २०७६ मंसिर २४ मा विशेष अदालतको निर्णय उल्टी गराई सफाइ पाए । सर्वोच्चबाट सफाइ पाएपछि प्रशासकीय अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलले उनलाई २०७७ माघ १२ मा पुनर्वहाली गर्न आदेश दिएका थिए । पुनर्वहाली भएपछि उनी सोलुको सोलु दुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भए ।

    सहसचिव बढुवा भएपछि उनी लगत्तै सिरहाको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुन सफल भएका थिए । सिरहामा सरुवा हुनासाथ उनको ध्यान जसरी हुन्छ मुद्दामा सेटिङ गरेको रकम असुलीमा तल्लीन हुने गरेको छ । उनले जिल्लाका सरकारी कार्यालयका अधिकृतहरुलाई हदैसम्मको निकृष्ट ब्यवहार प्रदर्शन गर्दै थर्काउने गरेका छन् । र, विकासे अड्डाका हाकिमलाई समेत घुस मागेर धुरुक्कै रुवाउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी अख्तियारको प्रतिनिधि पनि हुने भएकाले उनले विकासे अड्डाका प्रमुखहरुलाई भुक्तानी कति भयो, त्यसको ५ प्रतिशत चाहियो भनेर आजित पार्ने गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार