काठमाडाैं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा इन्टरनेशनलका प्रोप्राइटरसहित तीनविरूद्ध मुद्दा दायर गरेको छ ।
विभागले बुधबार कर छलेको आरोपमा कम्पनिका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध उच्च अदालत पाटनमा सोह्र करोड बढी बिगो माग्दै मुद्दा दायर गरेको हाे।
स्राेतका अनुसार उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको हाे ।
सौगात इन्टरनेशनलले जालसाजीपूर्वक आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिएका छन् ।
नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ।
अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ।