Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग, कोरोना फैलाउँदै हिँडेको आरोप


    शुक्रबार, माघ १४ २०७८
    810
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण फैलाउदै हिँडेको आरोप लागेको छ । गत माघ ९ गते पहिलोपटक कोरोना पुष्टि भएका उनी  संक्रमणको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। 

    एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

    यता, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कोरोना फैलाउँदै हिँडेको भन्दै सामाजिक संजालहरुमा उनको चर्को आलोचना भएको छ। उनीमाथि संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाहीको माग समेत गरिएको छ। 

    कोरोनासम्बन्धी प्रशासनको पछिल्लो नियम अनुसार यदी कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । साथै, रिपोर्ट पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरेर आइसोलेसन बस्नेदेखि रिपोर्ट नेगेटिभ नआएसम्म सार्वजनिक स्थानमा निस्किन पाइदैन । ओलीले उक्त नियम उलंघन गरेर प्रशासनकै खिल्ली उडाएको आरोप छ। 

    कोरोनाभन्दा माथि ‘बा’
    कार्यक्रममा ओलीको तस्बिरसहितको ब्यानरमा ‘शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली’ लेखिएको थियो । कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।

    तर, सामाजिक संजालमा अर्को एउटा भिडियो पनि निकै आलोचित बनेको छ । भिडियोमा  ओलीले ‘तपाईंहरू आफै पनि डिस्ट्यान्स मेन्टेन गरेर बस्नुस् न’ भन्दा एउटी महिला कार्यकर्ताले ‘हामीलाई बा भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौं’ भनिरहेको सुनिन्छ । 

    आफैं कोरोना संक्रमित रहेका ओली ‘ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान कार्यक्रममा ऐक्यबद्धता जनाउन’ उपस्थित भएको कार्यक्रम सञ्चालकले भनिरहँदा उनीहरुले प्रशासनको आदेश र नियमलाई नै खिल्ली उडाएको देखिन्थ्यो। 

    परीक्षण गराउनेमध्ये आधाको रिपोर्ट पोजिटिभ
    पछिल्लो समय नेपालमा कोरोना परीक्षण गराउनेमध्ये आधाको रिपोर्ट पोजिटिभ देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा तेस्रो लहरको ओमिक्रोन भेरियन्ट सबैभन्दा बढी संक्रामक रहेको छ । दिनहुँ १० हजारभन्दा माथि संक्रमितहरु थपिँदा काठमाडौँ उपत्यकामा मात्रै त्यसको आधा थपिने गरेको देखिन्छ। 

    मन्त्रालयले संक्रमण पुष्टि भएका वा संक्रमणको लक्षण देखिएकाहरूलाई कम्तिमा पनि सात दिन आइसोलेसनमा बस्न हरेक दिन अनुरोध गरिरहेको छ। बिहीबार मात्रै नेपालमा १० हजारको हाराहारीमा संक्रमण पुष्टि भएको थियो।

    यो पनि: 
    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, जोरविजोर प्रणाली हटाउने तयारी
    एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार