Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले युवासंघको ८ बुँदे मापदण्डः ४० बर्ष कटेका अध्यक्ष पौडेललाई लागू हुने कि नहुने ? 


    बुधबार, माघ ५ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • ८ मिनेट पाठ
  • काठमाडौं । एमाले निकट  युवासंघभित्र तीव्र विवाद उत्पन्न भएको छ । युवासंघका पूर्वअध्यक्ष महेश बस्नेत र वर्तमान अध्यक्ष किरण पौडेलले आफ्नो गुटमा आवद्धलाई मात्र राखेर महाधिवेशन आयोजक कमिटी गठन गरेपछि युवासंघभित्र भाँडभैलो मच्चिएको छ ।

    गएको पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठकले आठ बुँदे मापदण्ड लगाउँदै नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेपछि विवाद बढेको छ ।

    आगामी फागुन ११ मा महाधिवेशन गर्ने मिति तोक्दै पहिलाको कमिटीको संख्या घटाएर आयोजक समिति एक्लौटी गठन गरेको बिषयले युवासंघभित्र तीव्र विवाद भएको हो । पोखरा बैठक नै बहिस्कार गरेको बिद्रोही टिमले महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी र विद्यार्थी इन्चार्ज भानुभक्त ढकाललाई भेटी असन्तुष्टि राखिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पनि समस्या समाधान नभए समानान्तर कमिटी गठनसम्म गर्ने तयारी गरेपछि महेश बस्नेत र किरण पौडेल पछि हट्न बाध्य भइसकेका छन् । 

    पूर्वअध्यक्ष बस्नेत र वर्तमान अध्यक्ष पौडेलले युवासंघमा ८ बुँदे मापदण्ड बनउँदै उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे(उज्वल), तिरण गौतम, रविन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूलाई बिदा गरी पुस ३० मा पोखरामा नवौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

    नवौं महाधिवेशन आयोजक समिति यसअघि १३–१४ सयको जम्बो बनाउने र अहिले महेश बस्नेत र पौडेलले आफ्नो गुटमा फरक मत राख्नेहरुलाई ८ बुँदे मापदण्ड लगाएर हटाएपछि अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवारहरुले पोखरामा भएको बैठक बहिस्कार गरेर पार्टी नेताहरुलाई सबै कुरा राखिसकेका छन् । बस्नेत र पौडेलको कोपभाजनमा परेको यो समूहले अध्यक्ष ओलीलाई भेटिसकेपछि उनले बस्नेत र पौडेललाई सबैलाई समेट्न निर्देशन दिइसकेको समानान्तर कमिटी गठनमा लागेका एक नेताले बताए । 

    ब्यबस्थापनमा समस्या आउने देख्दादेख्दै यसअघि १३–१४ सयको कमिटी बनाएको यु्वासंघले महाधिवेशन निजिकिँदै गरेको अवस्थामा पहिलाको कमिटीलाई स्वतः आयोजक कमिटीमा रूपान्तरण गरेको भए विवादमा आउने थिएन । तर बस्नेत र पौडेलले ८ बुँदे मापदण्ड बनाउँदै पोखरामा एक्लौटी ढंगले खल्तीबाट सूची निकालेर पढेपछि युवासंघमा विवाद बढेको थियो । 

    कोरम नै नपुगेको पोखराको सचिवालय बैठकबाट महेश बस्नेतले महाधिवेशन आयोजक समितिको नाम पढेको आरोप रोशन बस्नेतको छ । 

    युवासंघमा उमेरहदको विवादः ८ बुँदे मापदण्ड अध्यक्ष पौडेललाई लागू हुने कि नहुने ?

    युवासंघले नवौं महाधिवेशन आयोजक समिति एक्लौटी ढंगले गठन गरेको बिषयमा विवाद बढ्दै समानान्तर कमिटी गठनको तहसम्म पुगेपछि युवासंघका सचिव तथा प्रचार विभाग प्रमुख महाराज गुरुङले बुधबार एक बिज्ञप्ति जारी गरेका छन् । बिज्ञप्तिमा ८ बुँदे मापदण्डका आधारमा युवासंघको पुस ३० गतेको सचिवालय बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको उल्लेख छ ।

    आठ बुँदे मापदण्डको दोस्रो बुँदामा उमेरको बारेमा उल्लेख छ । युवासंघमा ४० बर्षको उमेरहद लागू गरिएको छ । ४० बर्ष कटेकालाई युवासंघबाट बिदा गरिएको अर्थमा उक्त बुँदालाई लिन सकिन्छ । उक्त बुँदामा उल्लेख छ–‘उमेरहद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।’

    उमेरहद लागू गर्ने हो भने सबैभन्दा पहिला अध्यक्ष किरण पौडेल नै युवासंघबाट बिदा हुनुपर्ने देखिएको छ । उनको नागरिकताकै उमेरलाई आधार मान्दा पनि उनी ४० बर्ष पुगी ४१ बर्षको यात्रामा छन् । उनको उमेर ४० बर्ष ५ महिना पुगेको छ ।

    जिल्ला प्रशासन कार्यालय नवलपरासी(हाल पश्चिम नवलपरासी) को ढड्डाको अभिलेख अनुसार साविक माकर गा.वि.स. वडा नम्बर २ ठेगना भएका श्री प्रकाश पौडेलका छोरा किरण पौडेलको जन्म २०३८ भदौ १० गते भएको देखिन्छ । जस अनुसार उनी २०७८ माघ १० मा ठ्याक्कै ४० बर्ष ५ महिना पुग्छन् । यदि युवासंघको पुस ३० को सचिवालय बैठकको निर्णय अनुसारको ८ बुँदे मापदण्ड लागू हुने हो भने उनी युवासंघबाट बिदा हुनुपर्ने हुन्छ । अरुलाई ४० बर्षको उमेरहदको मापदण्ड बनाएर बिदा गर्ने पौडेललाई नागरिकता सार्वजनिक गर्न सामाजिक संजालमा युवासंघभित्रैबाट चुनौती समेत दिइएको छ ।

    नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाएको मापदण्ड

    १. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरी महाधिवेशन आयोजक कमिटीको सदस्य, सचिवालय, स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाइएको ।

    २. उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पु्र्याउनु भएको योगदानको उच्च कदर गर्नका लागि पूर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

    ३.पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

    ४. नेतृत्वले पटक पटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मूल नेतृत्व र नितिको बद्ख्वार्इं गर्दै हिंड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

    ५.संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निस्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

    ६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पूर्ण पालना गरिएको । जसअन्तर्गतः
    १ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
    ३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
    ५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
    १० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
    जनजातितर्फबाट ६ खुल्ला ४ महिला
    मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
    मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
    उत्पीडित–दलिततर्फबाट २ खुल्ला १ महिला
    थारु समुदायतर्फबाट २ खुल्ला १ महिला
    पिछडिएको क्षेत्रतर्फबाट २ खुल्ला १ महिला
    अल्पसंख्यकतर्फबाट २ खुल्ला १ महिला
    अपांग (विशेष क्षेत्र) तर्फबाट १ खुल्ला १ महिला
    विशेष योगदान गरेकाहरुमध्येबाट २ खुल्ला १ महिला
    खुल्लातर्फबाट २७ खुल्ला १३ महिला
    कार्यालय कमिटी १० खुल्ला ३ महिला

    ७. नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकबाट १०५ मनोनीत (मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

    ८.पार्टी केन्द्रले तोकिदिएको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सीमित संख्याभित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता, क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु (लेखा, अनुशासन र निर्वाचन), केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

      

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार