काठमाडौं।विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
२५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ प्रचण्डले भोलि दिने कार्यक्रम रहेको छ ।
उनले जवाफ दिनु अघि स्थायी कमिटीमा छलफल गर्नेछन् ।
अन्य राजनीतिक दलका महाधिवेशन विचार भन्दा नेतृत्व केन्द्रीत रहेको र पुराना र संसदवादी दलहरुको प्राथमिकता नेतृत्व चयन र गुटबन्दीमा मात्र रहेकाले विचार निर्माण गर्ने थलो महाधिवेशनलाई बनाउने उद्घोष प्रचण्डले गरेका थिए । त्यस अनुरुप उनले महाधिवेशनमा झडै तीन घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए ।
आफ्नो प्रतिवेदन पछि पार्टी रुपान्तरण हुने दाबी गरेका प्रचण्डलाई अहिले प्रतिवेदनले नै संकटमा पारेको छ ।
समूहगत छलफलमा मात्र अधिकांश समूहले पार्टी नेताहरुको जीवनशैली, नेतृत्वको आलोचना, बारम्बार एकै व्यक्तिलाई लाभको पद, पार्टीबाट सरकारमा भएको सहभागीता जनमुखी हुन नसकेको भन्दै चर्को आलोचना भएपछि प्रचण्ड संकटमा परेका छन् ।
बारम्बार एकै व्यक्तिलाई लाभको पद दिएको र उनीहरुले अकुत सम्पत्ति कमाएको भन्दै आलोचना भइरहेको हो ।
नेता लेखनाथ न्यौपानेले त फरक मत पेस गर्दै प्रचण्डको चर्को आलोचाना गरेका छन् ।
नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !
प्रचण्डले प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारण र यसलाई व्यवस्थित गर्ने उपायबारे उल्लेख गरेका छन् । शान्तिप्रकृयामा आएपछि मूलभूत रुपमा पार्टीबाट भएका चार खालका कमजोरीमाथि उनले आत्मसमीक्षा गरेका छन् र आगामी दिनमा सुधार गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । आफूहरुले उठान गरेका एजेन्डाको जित भएकाले आगामी दिनमा पार्टी अगाडि बढ्ने उनले विश्वास लिएका छन् ।
विश्वपरिवेशसहित, वित्तीय पुँजिवाद, जलवायु परिवर्तनसम्मका विषय उठाएर प्रतिवेदनलाई ‘महान’ दस्तावेज बनाउन खोजेका प्रचण्डले यतिवेला पार्टीका नेताहरुको जीवनशैली, सरकारमा गएर पनि काम गर्न नसकेको बारे जवाफ दिनु पर्ने भएको छ ।
नेता लेखनाथ न्यौपानेले त स्वयं प्रचण्डमा व्यक्तिवादी र आत्मकेन्द्रीत सोच बढेको भन्दै कडारुपमा फरक मत राखेका छन् ।
प्रचण्डले आफ्नो नातीलाई महँगो बोर्डिङमा पढाएर कार्यकर्ताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने प्रस्ताव राखेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
प्रतिनिधिहरुले भने नेताहरुको जीवनशैली र सम्पत्तिमाथि आँखा लगाइरहेका छन् र भनिरहेका छन्, ‘लाभको पदमा गएका पार्टी नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक छ ।’
त्यसभन्दा एक कदम अघि बढेर नेता न्यौपानेले त मन्त्री भएकाको मात्र होइन पीए भएकाहरुको अकुत सम्पत्ति कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिकमात्र होइन, बदनामीको माध्यम हुनेछ’न्यौपानेले भनेका छन् ।
उनले पार्टी कमजोर हुनुको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन भएको उल्लेख गरेका छन् र यो उनको भनाइमा अधिकांश माओवादी नेता कार्यकर्ताको समर्थन रहेको पाउन सकिन्छ । ‘हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन’ उनले भनेका छन् ।
निजी सम्पत्तिको विरोध गर्ने र भूमिगत जीवन बिताएर आएका सर्वाहाराको नेतृत्व गर्ने नेताहरुको जीवनशैली पछिल्लो समय निकै फेरिएको कार्यकर्ताहरुको गुनासो छ ।
जनताले जीवन परिवर्तनको सपना देखाएर युद्धमा होमिएका माओवादी कार्यकर्ताको अवस्था जहाँको त्यही हुँदा शान्ति प्रकृयामा आएपछि नेताहरुको जीवनमा निकै परिवर्तन आएको छ । खाली हात राजधानी पसेकाहरु आज करोडौंका मालिका भएका छन् । नेताहरुको ठूला ठूला घर, गाडी, पारिवारिक अवस्था आदीमा परिवर्तन आए पनि युद्धमा लागेका, घाइते, अपाङ्ग, सहिद र वेपत्ता परिवारको अवस्था भने उस्तै रहेको भन्दै माओवादी नेता कार्यकर्तामा निराशा छाएको छ ।
जसका कारण महाधिवेशनको थलोमा प्रतिनिधिहरुले जोडतोडसँग नेताको सम्पत्ति छानबिनको दायरामा ल्याउन माग गरिरहेका छन् । पार्टीमा सुधार ल्याउन प्रतिनिधिहरुले नेताको अकुत सम्पत्तिमा आँखा लगाएका छन् हिसाब गरिरहेका छन् । नेताहरुलाई सही बाटोमा हिँड्न र ‘ग्राउण्ड’ नबिर्सिन उनीहरुले अघोषित रुपमा चेतावनी दिइरहेका छन् । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend