काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरूको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारी निवास बालुवाटारमा सोमबार कांग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
२०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री भएकै बेला विभिन्न बस्तीका नागरिकहरूलाई विस्थापित गरिएको थियो । विस्थापनाको २० वर्षसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरू राज्यलाई दबाब दिन फेरि एकपटक काठमाडौं आएका छन् ।
यो २० वर्षमा पटक पटक समस्या समाधान आयोग बने पनि ठोस प्रगति हुन सकेन । पछिल्लो ३०औं आयोगले पीडितलाई १० कट्टा जमिन र क्षतिपूर्ति दिन सुझाव दिएको थियो । तर, सो प्रतिवेदन वन मन्त्रालयबाट अघि बढेको छैन ।
यसक्रममा काठमाडौं आएको आरक्ष पीडित टोलीले वनमन्त्री रामसहाय यादवलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ । समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाएर अघि बढ्ने वनमन्त्री यादवको आश्वासनपछि पीडितको टोलीले मगलबार प्रधानमन्त्री देउवालाई भेटेको हो ।
पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरे । ‘यो राज्य यस्तै छ । कहिले के हुन्छ, कहिले के । केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही,’ ढिलाइको कारण खुलाउँदै देउवाले भने, ‘अब म साँच्चिकै समाधान गर्छु । एक हप्ताभित्र रिजल्ट देखिनेछ ।’
यसअघि पनि आश्वासन पाएको तर समाधान नभएको गुनासो पीडितहरूले गरेपछि देउवाले फेरि भने, ‘यसपालि आरक्षको समस्या समाधान हुन्छ, हुन्छ, हुन्छ । कुनै हालतमा हुन्छ । तपाईंहरु ढुक्क हुनुस् । एक हप्तामा समस्या समाधान हुन्छ ।’
भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले मुख देखाउने अवस्थासमेत नभएको, अफ्ठेरो भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए ।
प्रधानमन्त्री देउवाको आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम एक सातालाई स्थगित गरेको छ । जिल्लामा सडक चक्काजामदेखि सिडिओ कार्यालय घेराउसम्म गरेको समितिले काठमाडाैँमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेता भेट्ने र माग सम्बोधन नभए माइतीघरमा धर्नामा बस्ने कार्यक्रम बनाएर काठमाडौं आएको थियो ।
समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन पाएकाले आफूहरू आशावादी रहेको बताए । ‘प्रधानमन्त्रीजी हाम्रो समस्याबारे प्रत्यक्ष जानकार हुनुहुन्छ । उहाँकै पालबाट सुरु भएको यो समस्या उहाँकै पालामा समाधान हुनेमा आशावादी छौं । एक हप्तालाई आन्दोलन स्थगित गरेका छौं । समाधान भएन भने फेरि जिल्लाबाट पीडितहरु अझ ठूलो संख्यामा राजधानी आएर आन्दोलन चर्काउँछौं,’ भट्टले भने ।
उनका अनुसार समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेर समस्याबारे ध्यानाकर्षण गराएको छ । नेता नेपालले सत्ता गठबन्धनमा सल्लाह गरेर समाधानका लागि पहल गर्ने आश्वासन दिएको भट्टले बताए ।
यो बीचमा समितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । ओलीलाई १९ दिनको वाचा स्मरण गराइने सचिव भट्टले बताए । ‘उहाँ (ओली) संसद विघटनपछि कञ्चनपुर पुगेर १९ दिनभित्र आरक्ष पीडितले जग्गा पाउँछन् भनेर भन्नुभएको थियो । १९ महिना वित्न लाग्यो जग्गा त केही पनि पाएनौं । यहीँ कुरा ध्यानाकर्षण गराउँछौं । हाम्रो समस्याबारे उहाँ जानकार हुनुहुन्छ । प्रतिपक्षीबाट पहल गरिदिन अनुरोध गर्छौं,’ उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पटक पटक पीडितको घरमा गए पनि समस्या समाधानमा कुनै चासो नदिएको संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । ‘उहाँ(प्रचण्ड)लाई पनि ठोस पहल गरिदिन ध्यानाकर्षण गराउँछौं । यसपालि हाम्रो समस्या समाधान नगरिकन हामी छोड्दैनौं,’ उनले भने । पूर्वन्यायाधीश ठाकुर प्रसाद शर्माको न्यायिक आयोगले दुई हजार ४७३ परिवार पीडित भएको पहिचान गर्दै परिचयपत्रसमेत वितरण गरिसकेको छ । तर राज्यले अझै पुनर्स्थापना नगरेको पीडितहरुको गुनासो छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend