काठमाडौं । राजस्व अनुसन्धान विभागले ११ अर्बभन्दा बढी पूँजीगत लाभकर छली गर्ने बोटलर्स नेपालका अध्यक्ष भारतीय नागरिक शुक्ला वासनसहित १५ जनालाई उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।
एनसेलको जस्तै विदेशमै पटक पटक कम्पनी बिक्री गरी पूँजीगत लाभकर छली गरेको देखिएपछि राजस्व अनुसन्धान बिभागले १ बर्षअघि २०७७ मंसिर २३ गते बोटलर्स नेपालको बालाजुस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । बहुराष्ट्रिय कम्पनीबाट उत्पादित चिसो पेय पदार्थ कोकाकोलाको नेपालस्थित प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडले पटकपटक कम्पनी बिक्री गरेको तर नेपाललाई तिर्नुपर्ने पूँजीगत लाभकर नतिरेकोबारेमा २०७७ असोज १९ गते उजुरी परेको थियो । बोटलर्स नेपालको सेयर स्वामित्व गुपचुप बेचेर नेपाल सरकारलाई तिर्नुपर्ने अरबौं रूपैयाँबराबरको राजस्व छली गरेको अभियोगमा विभागले छानबिन सुरु गरेको थियो । प्रमाणसहित परेको उजुरीका आधारमा राजस्वले छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।
बोटलर्स नेपालका संचालकहरुलाई पटक पटक विभागले पत्र पठाउँदा पनि पूँजीगत लाभकर तिर्नेबारेमा बेवास्ता गरेको र संचालकहरुले गैरजिम्मेवार ब्यवहार प्रदर्शन गरेपछि विभागले शुक्रबार ‘राइजीङ नेपाल’ मा ७ दिनभित्र अध्यक्ष र पदाधिकारीलाई ७ दिनभित्र उपस्थित हुनका लागि सूचना निकालेको जनाएको छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालका अध्यक्ष, संचालक र प्रबन्ध निर्देशकदेखि लेखाप्रबन्धकहरु सबै विदेशी नागरिक भएकाले राजस्व अनुसन्धान विभागले सूचना पनि अंग्रेजी भाषामै निकालेको छ । करछलीका लागि स्वर्णभूमि बन्दै गएको नेपालमा बहुराष्ट्रिय कम्पनी एनसेलले ७२ अर्ब लाभकरछली गरेको घटनापछि बोटलर्स नेपालको यो दोस्रो ठूलो करछलीको घटना हो ।
राजस्व अनुसन्धान विभागको सूचनामा बोटलर्स नेपालका अध्यक्ष श्रीमती शुक्ला वासनसहित १५ जनालाई ७ दिनभित्र उपस्थित हुन र नभएमा राजस्व चुहावट ऐन २०५२ अनुसार कारबाही हुने उल्लेख छ । विभागले ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेकाहरुमा संचलक मेल्भिन टाङचुन पिङ(सिंगापुर), मोहम्मद अमिन घोनिम (सिंगापुर), गौरभ खोस्ला (हरियाणा, भारत), सुन्दिप बाजोरिया(हरियाणा, भारत), देवब्रत मुखर्जी(हरियाणा, भारत), सुमनन्त दत्त(हरियाणा, भारत), जवाहर सोलाई कष्पुवाणी (गुडगाउँ, भारत), संकेत राय (गुडगाउँ, भारत), डेनिस म्यारिलुईस लाडबन्स(विदेशी नागरिक, ठेगाना नखुलेको), कैथ ल्यान स्यान्से( विदेशी नागरिक, ठेगाना नखुलेको), चोलिया दे सिल्भा(ठेगाना नखुलेको) छन् ।
त्यसैगरी प्रबन्ध निर्देशक सलमान लतिफ रावन(पाकिस्तान), प्रबन्ध निर्देशक पुनित चन्द्रपाल भर्सने र लेखाप्रबन्धक सुमित गोयल(मलेसिया) छन् ।
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालका १५ जना अध्यक्षसहितका पदाधिकारीलाई उपस्थित हुनका लागि जारी गरेको सूचनापछि पनि उनीहरु हाजिर नभएमा मुद्दा चलाउने मार्गप्रशस्त हुनेछ ।
बिभागले बोटलर्स नेपालका बिरुद्ध पूँजीगत लाभकर छलीमा मुद्दा चलाएरै छाड्ने भएको छ । बोटलर्स नेपालले राजस्वले कागजात नियन्त्रणमा लिएपछि राजीतिकदेखि प्रशासनिक पहुँच प्रयोग गरी मुद्दा नचलाउनका लागि चलखेल गर्दैआएको छ । छली भएको पूँजीगत लाभकर तिर्नेतिर भन्दा राज्यका निकायलाई प्रभावमा पार्नतिर बोटलर्स नेपालका पदाधिकारीहरु लागेका छन् । तर राजस्वले पूँजीगत लाभकर नतिर्ने बोटलर्स नेपाललाई मुद्दा चलाएरै छाड्ने देखिएको छ । शुक्रबारको सूचनाले पनि विभागले बोटलर्स नेपाललाई पूँजीगत लाभकर छलीमा कारबाही गरेरै छाड्छ भन्ने पुष्टि गरेको छ ।
यी हुन् राजस्व अनुसन्धान विभागले ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेका बोटलर्स नेपालका संचालकहरु
