हुम्ला । बैंकिंग कारोबारका कारण बालबालिकाको सामाजिक सुरक्षा भत्ता अन्योलमा परेको छ । सिमकोट गाउँपालिका-७ र ८ का बालबालिका र वृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता बैकिंङ कारोबारबाट सुचारु गरिएपछि समस्या झन् बल्झिएको छ ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता बैकिंङ कारोबार गर्ने नियम लागू गरेसँगै बैंकमा सही डाटा नभएका कारण स्थानीयले झन् समस्या झेल्नु परेको हो ।
आर्थिक वर्ष २०७७/२०७८ वर्षदेखि सिमिकोट गाउँपालिकाले प्रति व्यक्ति पिच्छे साङ्ग्रिला बैंकमा खाता खोले मात्रै सामाजिक सुरक्षा भत्ता खातामा हालिने नत्र सो भत्ता नपाउने भनेपछि स्थानीय नागरिकले गत चैत वैशाखबाट साङ्ग्रिला बैंकमा धमाधम खाता खोलेका थिए ।
खाता सञ्चालन गरे यता झन् सिमिकोट गाउँपालिका-७ का करिब १ सय ५० जना र वडा नम्बर ८ का केही बालबालिकाको सुरक्षा भत्ता जम्मा नभएपछि बालबालिका सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।
बालबालिकाको जन्मदर्ता गर्दा अनलाइन इन्ट्रिको समय र गाउँपालिकाले खाता सञ्चालन गर्ने बैंकलाई क्लियर डेटा नदिँदा वडा नम्बर ८ र ७ का बालबालिकाको भत्ता बैंकमा जम्मा नहुँदा उनीहरूका आमा बुवा रित्तो हातमा घर फर्कन बाध्य भएका स्थानीय नेत्रबहादुर शाहीले बताए ।
गाउँपालिकाले खाता सञ्चालन गर्ने निर्देशनपछि सबैले खाता खोलेर गाउँपालिकालाई खाता नम्बर दिएको भए पनि साङ्ग्रिला बैंकलाई भरपर्दो डेटा नदिँदा अधिकांश बालबालिका र वृदवृद्धाको सुरक्षा भत्ता बैंकमा जम्मा हुने नहुनेमा अन्योल भएको पाइएको छ ।
यसभन्दा पहिला स्थानीय तहले वडा कार्यालयमार्फत गाउँ-गाउँमा गएर हातमै बुझाउने गरेको थियो । तर, पछिल्लो समय यस्तो प्रक्रियाले निकै घोटाला आएपछि बैंकिङ प्रर्णालीमार्फत भत्ता वितरण गर्ने प्रावधान ल्याएपछि स्थानीय खुसी भएका थिए । हाल आफ्नो भत्ता बुझ्न जाँदा बैंकमा रकमै जम्मा नभएको देखिँदा निराशा घर फर्कनु परेको स्थानीयले गुनासो छ ।
यस्तो समस्या सिमिकोट गाउँपालिका वडा नम्बर ७ को धेरै आएको र वडा नम्बर ८ को केही न्यून रहेको साङ्ग्रिला बैंक स्रोतले जनाएको छ ।