Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैदेशिक रोजगार बोर्डमा पुनः विवादित ब्यवसायी कैलाश खड्कालाई नियुक्ति गर्ने तयारी 


    बिहिबार, पुष १ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगार बोर्डको सदस्य नियुक्तिका लागि विवादित ब्यवसायी कैलाश खड्का पुनः सल्बलाएका छन् । बोर्डको सदस्य नियुक्तिका लागि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई समेत सहमत गराइसकेको स्रोत बताउँछ । हालै श्रम सचिवमा आएका एकनारायण अर्यालसँग त उनको घनिष्ठता काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएकै बेलादेखिको हो ।

    सचिव अर्यालले नै उनलाई ठगी आरोपमा मुद्दा कमजोर बनाउने वातावरण बनाइदिएका थिए । खड्कासँग कारोबार नै चल्ने भएकाले सचिव अर्यालले समेत उनलाई बोर्ड सदस्य बनाउनका लागि भूमिका खेलिरहेका छन् । मलेसिया जाने नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा प्रतिब्यक्ति १८ हजार असुली गर्ने ३६ वटा संस्थाको ३ बर्ष सिन्डिकेट चलाएका खड्कासँग अथाह पैसा भएकाले बोर्ड सदस्य हुनका लागि उनी जति पनि खर्च गर्न तयार छन् । स्रोतका अनुसार मन्त्री किसान श्रेष्ठ पनि कुनै बेलाका म्यानपावर ब्यवसायी नै भएको र खड्कासँग बाक्लै हिमचिम भएकाले उनलाई बोर्ड सदस्य बनाउने तयारीमा छन् ।  

    मलेसिया जाने कामदारका लागि बायोमेडिकल स्वास्थ्य परीक्षणका नाममा ३६ वटा मात्र ब्यवसायीको सिन्डिकेट कायम गरेको आरोपमा २०७५ मा प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका कैलाश खड्का यसअघि रामेश्वर राय यादव श्रम मन्त्री हुँदा २०७७ असार १८ मा बोर्डको सदस्य नियुक्त भएका थिए । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रभावमा पारी उनी बोर्ड सदस्य भएको भन्दै ब्यापक आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।  

    टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएका खड्का अहिले पुनः बोर्डको सदस्य हुन श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)कोमा दिनरात धाइरहेका छन् । बायोमेडिकल स्वास्थ्य परीक्षणमा छनोट हुनका लागि स्वास्थ्य ब्यवसायीसँग सुरुमै एकमुष्ट एक संस्थाबराबर ५० लाखका दरले उठाएको आरोप उनीमाथि छ । 

    बायोमेडिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनले ३६ संस्थाबाट मासिक दररेट तोकेर  शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ । उनले बुढानीलकन्ठ(आरजु देउवा), खुमलटार (प्रचण्ड) र बालकोट(ओली)लाई बुझाउन भनेर रकम लिने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने– बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए । ३६ वटै स्वास्थ्य ब्यवसायीले बुझाउनुपथ्र्यो ।  ३६ स्वास्थ्य ब्यवसायीबाट मासिक  २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप उनीमाथि छ ।  तर २ बर्षसम्म उठाएको त्यो रकम उनले ती शक्तिकेन्द्रमा नबुझाई आफैंले राखेको कुरा उनको अरब हाराहारीको अहिलेको सम्पत्तिले पुष्टि गरेको छ । उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरबका मालिक छन् ।  

    बायोमेडिक स्वास्थ्य परीक्षणबापत नेपाली कामदारबाट एक जनाबराबर १८ हजार रुपैयाँ लिने गरिएको थियो । जुन कार्यलाई ठगीको संज्ञा दिंदै तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टले खड्कासहितका बिरुद्ध मुद्दा दायर गरेका थिए । केही ब्यवसायी पक्राउ परे पनि खड्का भने फरार भएका थिए । पछि अदालत सेटिङ गरी उनी छुटेका थिए ।

    यस्ता विवादित ब्यवसायीलाई मन्त्री किसान श्रेष्ठ र सचिव अर्याल वैदेशिक रोजगार बोर्डको सदस्य बनाउन लागेका छन् । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा यौनकाण्ड लागेका युवराज अधिकारीलाई नियुक्ति गर्दा नेकपा (एकीकृत समाजवादी) पार्टीको छविमा दाग लागिसकेको छ । फेरि कैलाश खड्काहरुलाई नै नियुक्ति गरेमा नेकपा समाजवादी पनि कानै चिरेको जोगीका रुपमा लिनेछन् ।      
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार