काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ गोंगबु गणेशस्थानबाट पक्राउ परेका १२ पेशेवेर जुवाडेहरुको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले ७ दिन म्यादथप गरेको छ । प्रहरीले बुधबार जुवाडेहरुलाई म्यादथपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लगेको थियो ।
खरानी ग्याङका नामले चिनिने यो जुवा खेलाउने समूहका नाइके राजकुमार अधिकारीसहित पासिकोटकी ज्योति बानियाँ, ढुकुटी खेलाउने गंगा बस्नेत, माया बस्नेत, जोरपाटीका गेजी गुरुङ, उमेश तामाङ लगायतलाई पक्राउ गरेको थियो । लामो समयदेखि कौडा खेलाउने खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारी पेशेवर रुपमा जुवा खेलाउने नाइके हुन् । मंगलबार गोंगबु गणेशस्थानमा खरानी ग्याङको जुवाखालाबाट प्रहरीले २ लाख ७१ हजार रुपैयाँमात्र बरामद भएको प्रहरीले जानकारी दिएको छ । तर उक्त खालमा त्यतिमात्रै रकम नभएको स्रोतको दाबी छ । स्रोतका अनुसार करिब ९ लाख रकम खालमा बरामद भए पनि त्यो रकम देखाइएको छैन ।
खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौंका कपन, बौद्ध, जोरपाटी, मित्रपार्क, चावहिल, गंगाहिटी, धापासी, बसुन्धरा, गोंगबुलगायतका क्षेत्रहरूमा ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । र, घरमा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दैआएको थियो ।
पिकनिकको आवरणमा जुवा खेलाउने गरेको कुरा पनि २ बर्षअघि भण्डाफोर भएपछि पुनः ठाउँ सार्दै जुवा अखाडा संचालन गर्दैआएको छ । आज पक्राउ परेका राजकुमार अधिकारीले २०७६ मंसिर ८ मा धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरमा जुवा खेलाउने क्रममा प्रहरीले जुवाअखाडामा छापा हान्दा भाग्न सफल भएका थिए । तर उनले जुवा खेलाउन लगेकाहरु भने पक्राउ परेका थिए । धुलिखेलमा भागेर बचे पनि मंगलबार उनीसहित १२ जना पक्राउ परेका छन् ।
खरानी ग्याङका नाइके अधिकारीले प्रहरीमा पक्राउ परे पनि पुनः छुटाएर जुवा खेलाउने गरेका छन् । उनलाई पटक पटक प्रहरीले जुवा खेल्दाखेल्दै पक्राउ परे पनि उनी सेटिङ गरी छुट्दैआएका छन् । र, फेरि जुवा खेलाउनै तल्लीन हुने गरेका छन् ।