खरानी ग्याङका राजकुमार अधिकारी
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ गोंगबु गणेशस्थानबाट पक्राउ परेका १२ जुवाडे पेशेबर रुपमा खेल्ने समूह भएको खुलेको छ । खरानी ग्याङका नामले चिनिने यो जुवा खेलाउने समूहका नाइके राजकुमार अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीसमेत ८ पुरुष र ४ महिला छन् ।
लामो समयदेखि कौडा खेलाउने खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारी, पासिकोटकी ज्योति बानियाँ, माया बस्नेत, गंगालगायत प्रहरीले पक्राउ गरेको हो । बानियाँ, बस्नेत सहितका महिला भीआइपी हुन् । जुवाखालाबाट २ लाख ७१ हजार रुपैयाँमात्र बरामद भएको जानकारी उनले दिएका छन् ।
खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौंका कपन, बौद्ध, जोरपाटी, मित्रपार्क, चावहिल, गंगाहिटी, धापासी, बसुन्धरा, गोंगबुलगायतका क्षेत्रहरूमा ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । र, घरमा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दैआएको थियो ।
पिकनिकको आवरणमा जुवा खेलाउने गरेको कुरा पनि २ बर्षअघि भण्डाफोर भएपछि पुनः ठाउँ सार्दै जुवा अखाडा संचालन गर्दैआएको छ । आज पक्राउ परेका राजकुमार अधिकारी २०७६ मंसिर ८ मा धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरमा जुवा खेलाउने क्रममा पक्राउ परेका थिए । तर प्रहरीबाट छुटेपछि पुनः उनले जुवा खेलाउन थाले । मंगलबार उनीसहित १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु धुलिखेलबाट भाग्नेहरु रहेको प्रहरी स्रोतले बताएको छ ।
२०७६ मंसिर ८ गते प्रहरीले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट साँढे ९ लाख रूपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको थियो । किराना पसलको ब्यवसाय भएका रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मीको टोलीले ९ लाख ५७ हजार ८ सय ७० नगद तथा १ सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको थियो । तर, त्यहाँ करीब ३४ लाख बरामद भए पनि ९ लाखमात्र देखाएर अरु एसपी सापकोटाले नै लिएपछि उनी तानिएका थिए ।
काठमाडौंका बृत्त र प्रभागहरू प्रायः सबैमा उनको नाम जुवा खेल्ने र खेलाउने भन्ने छ । काठमाडौंमा ठाउँ फेरीफेरी जुवा खेलाउँदा पनि सुरक्षित नभएपछि उनले पिकनिक आयोजना गरेको भनी जुवा अखाडा संचालन गर्दैआएका थिए ।
पिकनिकको आयोजनाका नाममा काठमाडौँबाट पेशेवर र धनाढ्य जुवाडेहरू धुलिखेल बोलाएर कौडा खेलाउने गरेका उनी प्रहरीले पक्राउ गरेपछि पछिल्लो समयमा पुनः घर फेरीफेरी खेलाउने क्रममा मंगलबार गोंगबुबाट पक्राउ परेका छन् । खरानी ग्याङका राजकुमार अधिकारी पटक पटक जुवा खालबाट पक्राउ पर्ने र छुट्ने गरेका छन् । मंगलबार पक्राउ परेका उनी बुधबार नै चलखेलमा लागिसकेका छन् ।