सप्तरी। प्रधानमन्त्री कप प्रदेश स्तरीय टी ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दुई वटा खेलमा सिराहा र महोत्तरी विजयी भएको छ ।
पहिलो खेलमा सिराहाले सर्लाहीलाई ८ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा महोत्तरीले सप्तरीलाई ८ विकेटले पराजित गरेको सप्तरी क्रिकेट संघ सप्तरीका सचिव चन्दन कुमार याद बले बताए ।
बिहीबार पहिलो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ८ विकेट गुमाएर ८५ रन जोडेका थिए । सर्लाहीका आरती सिंहले ४३ रन बनाए पनि कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
बलिङतर्फ सिराहाका अनुराधा चौधरी तीन, आरती चौधरीले दुई र सरस्वती चौधरी एक विकेट हात पारेका थिए । प्रतिउत्तरमा सिराहाले ९ ओभरमा २ विकेट गुमाएर जित हात पार्यो ।
जसमा टिमका लागि सरस्वती चौधरीले ३१ रन तथा आरती चौधरीले १८ रन जोडेपछि सिराहाले सहज जित निकालेको हो ।
बलिङतर्फ सर्लाहीकी यमुना श्रेष्ठ र तुलसी विश्वकर्माले १/१ विकेट लिएका थिए । खेलको म्यान अफ दी प्लेयर सिराहाका सरस्वती चौधरी घोषित भएका थिए । यसैगरी दोस्रो खेलमा टस जितेर सप्तरीले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएका थिए ।
जसमा सप्तरीका अन्जु चौधरीले ६ रन नटआउट रहे पनि अरू कुनै पनि खेलाडीले दोहरो अंक पार गर्न सकेन भने टिम ले ४३ रन अतिरिक्त जोडेका थिए ।
बलिङतर्फ महोत्तरीका गोमा आले र रोजी खत्रीले २/२ विकेट तथा पुष्पा फुयाँल, हेमा पटेल, गुडी गिरी ले १/१ विकेट लिएका थिए । प्रतिउत्तरमा महोत्तरीले ८ ओभर ३ बल खेल्दै २ विकेट गुमाएर जित हासिल गर्यो । टिमका लागि विमला मगरले २८ रन जोडेका थिए ।
बलिङतर्फ सप्तरीका नबिता चौधरी र मनिका चौधरीले १/१ विकेट लिएका थिए । उक्त खेलमा म्यान अफ दी प्लेयर महोत्तरीका गोमा आलेलाई प्रदेश २ क्रिकेट संघ छनोट समितिका संयोजक मुरतुजा हवारीले कप प्रदान गरेका थिए ।
भोलिको लिग चरणको अन्तिम खेलअन्तर्गत पहिलो खेल सर्लाही, महोत्तरी तथा बारा र सप्तरी बिच हुने सचिव यादवले जानकारी दिए । न्युज कारखाना