Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना खोप दिइँदै


    बिहिबार, मंसिर २३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • रसुवा । रसुवामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । 

    देशका १५ वटा जिल्लाहरूमध्ये रसुवाका ४ हजार ५ सय ६७ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । ‘१२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएसँगै हामीले शिक्षा तथा समन्वय इकाईसँग समन्वय गरेर विवरण संकलन गरेका छौं,’ उनले भने ।

    जिल्लाको ३६ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका उक्त बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन लागिएको उनले बताए । बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा आवश्यक तयारी सुरु गरिएको उनले बताए । ‘पुस महिनामा खोप दिने गरी तयारी गर्नु भनेर मन्त्रालयबाट भनिएको छ । तयारी स्वरूप बैठक बस्ने, तथ्यांक संकलन गर्ने कार्यहरू सुरु गरेका छौं,’ उनले भने, ‘धेरै विद्यार्थी भएको विद्यालयबाट खोप लगाउने गरी तयारी गरिरहेका छौं ।’ 

    कोरोना भाइरसविरुद्ध लड्न बालबालिकाका लागि फाइजर, मोडर्ना र बायोटेक खोप निर्माण भएको छ ।  फाइजर र मोडर्नाको खोप नेपालमा आइसकेको छ । बायोटेक खोप भने आएको छैन । यसअघि फाइजर खोप काठमाडौं केन्द्रित लगाइएको छ । 

    कोभ्याक्स सुविधा अन्तर्गत मोडर्नाको १५ लाख खोप शुक्रबार काठमाडौं आइपुग्दैछ । यसअघि करिब २ लाख खोप नेपाल आइसकेको छ । सोही अनुसार रसुवासहित देशका १५ वटा जिल्लाका बालबालिकामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ । 

    बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउन सकिने जनाइएको छ । यो खोप माइनस १५ देखि २५ डिग्रीमा राख्नुपर्ने हुन्छ । तर, रसुवामा २ डिग्री देखि ८ डिग्री सम्ममा मात्र राख्न सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । ‘यो खोप राख्नका लागि समस्या हुने देखिन्छ, एक महिनाको मात्र समय हुने भएकाले आवश्यकता अनुसार खोप ल्याउँछौँ,’ उनले भने । 

    स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । यसअघि १८ वर्षमाथिका खोप लगाउन योग्य सबै नागरिकले पूर्ण खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार