शैलेन्द्र खनाल, किरण सुवेदी र ज्ञानेन्द्र बस्नेत
काठमाडौं । सशस्त्र प्रहरी बलमा कमिसनको चलखेलका कारण गुणस्तरहीन लत्ताकपडा खरिद हुने गरेको छ । सशस्त्रमा लत्ताकपडा आपूर्ति गर्ने ठेकेदारहरुले गुणस्तर तथा नापतौल विभागमा सेटिङ गरी नमूना पास गराउने र सामान आपूर्ति गर्ने क्रममा नमूना अनुसारको नगरी गुणस्तरहीन बुझाउने गरेका छन् । आपूर्तिकर्ताहरुले सशस्त्रको बजेट, भण्डार र लेखादेखि आइजीपीसम्म नै सेटिङ गरी गुणस्तरहीन लत्ताकपडा बुझाउने गरेको स्रोतले बताएको छ ।
सशस्त्र प्रहरीका जवानहरुले लाएका चुस्ता खुइलिनुले पनि गुणस्तरहीन सामान आपूर्ति गरेको कुरालाई पुष्टि गर्दछ । नेपालको गुणस्तर विभागमा आपूर्तिकर्ताहरुले सेटिङ गरी नमूना पास गराउने र आपूर्ति गर्दा गुणस्तरहीन गर्ने गरेको पाइएपछि नेपाल प्रहरीले भारतको एसजीएस र इन्टरटेकमा टेष्ट गरेको रिपोर्ट अनिवार्य गरेको छ । नेपाली सेनामा पनि चुस्तादेखि हरेक सामानमा गुणस्तरहीन भएको गुनासोपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेपछि एसजीएस र आइटीएसमा टेष्ट गर्नैपर्ने ब्यवस्था गरेका छन् । नेपाल प्रहरीले विगतमा विभागमा टेष्ट गराउँदा विवाद भएपछि उपेन्द्रकान्त अर्याल आइजीपी भएको समयमा भारतको एसजीएस र आइटीएसमा पठाउने गरेको थियो ।
नेपाल प्रहरीले विभागको टेष्टका बारेमा धेरै नै गुनासो आएको र सेनामा भित्रै ल्याब भएर पनि गुणस्तरमा प्रश्न उठेपछि एसजीएस र आइटीएसमा पठाउने गरेका छन् । तर सशस्त्र प्रहरीले भने नेपालकै गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर पास गराउँदैआएको छ । नेपालमा टेष्ट गराउनु राम्रो हो, तर टेष्ट गर्ने क्रममै सेटिङ हुने गरेकाले गर्दा प्रश्न उठेकाले प्रहरी र सेनाले भारतमा पठाउने गरेका हुन् ।
सशस्त्रले कागजमा त बोलपत्र पेश गर्दा र सामान बुझाएपछि पनि गुणस्तर विभागमा टेष्ट गराउनुपर्ने भनेको छ । तर त्यो चेक देखावटीमात्र हुँदैआएकाले सशस्त्रको चुस्तादेखि कुनै पनि सामान गुणस्तरीय नभएको गुनासो ब्याप्त छ । सशस्त्रमा सामान आपूर्ति गर्ने ठेकेदारहरुको इशारामा विभागमा टेष्ट हुने गरेको आपूर्तिकर्ताहरुले नै आरोप लगाउने गरेका छन् । सशस्त्रका प्रबन्ध, लेखा र आइजीपीसम्मको मिलेमतोमा गुणस्तर विभागमा टेष्ट गर्न लाने स्याम्पल(नमूना) राम्रो लाने र पास भएपछि सामान बुझाउँदा गुणस्तरहीन बुझाउने गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सरोकारवाला निकायले सशस्त्रको सामानको गुणस्तर पास भएको नमूना र बुझाएको सामानको बिवरण हेर्ने हो भने सबै पोल खुल्ने संगठनकै अधिकारी बताउँछन् ।
सशस्त्रका आइजीपी खनालसँग सेटिङ भएका ठेकेदारले चेक गर्दा एउटा राम्रो पिस लाने र पास गर्ने गरिएकै कारण सशस्त्रको चुस्ता लाएको केही दिनमै खुइलिने गरेको छ । गुणस्तरमा प्रतिस्पर्धी ठेकेदारको गुणस्तरीय भए पनि सानो खोट देखाएर फेल गर्ने र सेटिङ भएकाहरुको जतिसुकै गुणस्तरहीन भए पनि पास गराउने गरेका छन् । यसमा गुणस्तर विभागमा लामो समयदेखि कार्यरत प्राविधिक अधिकृत किरण सुवेदीसँग ठेकेदारहरुले सेटिङ गर्ने गरेका छन् । उनीभन्दा माथिल्ला हाकिम हुन् सुवर्णप्रसाद उपाध्याय । गतबर्षसम्म विभागका प्राविधिक उपसचिव सुशील साह थिए । उनी २ नम्बर प्रदेशमा सरुवा भएपछि उपाध्याय आएका छन् । टेक्सटाइल इन्जीनीयर उपाध्याय र विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई मिलाउने पनि उनै अधिकृत सुवेदी हुन् । सुवेदी विगत १० बर्षभन्दा बढी समयदेखि गुणस्तर विभागमा कार्यरत छन् । गुणस्तर टेष्ट गर्ने क्रममा ठेकेदारसँग सेटिङ गरी उनले बानेश्वरको सहकारी विभागसँगै करोडौंको बंगला नै बनाएका छन् ।
सशस्त्र प्रहरीले चालु आर्थिक बर्षको साउनमा गरेको डीएमएस बुट, पन्चु, स्वेटर लगायत करिब २८ करोडको ठेक्का जय सलिना इन्टरप्राइेजजका ज्ञानेन्द्र बस्नेतले मात्रै पाएका छन् । चुस्ता इन्द्र श्रेष्ठहरुले पाएका छन् । उनीहरुले गुणस्तर विभागका अधिकृत किरण सुवेदीसँग सेटिङ गरी नमूना पास गरेका थिए । तर सशस्त्रमा उनीहरुले बुझाएका सामान गुणस्तर विभागले पास गरेको नमूना अनुसार कुनै पनि नभएको स्रोत बताउँछ ।
ठेकेदार बस्नेतले गुणस्तर विभागमा सेटिङ गरी आफ्नो नमूना पास गराएका थिए । सामान बुझाएपछि पनि सेटिङ गरी पास गराउँदैआएका छन् । अरु ठेकेदारको नमूना फेल गराउन र आफ्नो मात्र पास गराउन बस्नेतले गुणस्तर सेटिङका लागि अधिकृत किरण सुवेदीमार्फत् घुस दिने गरेको स्रोत बताउँछ ।
सशस्त्रका आइजीपी शैलेन्द्र खनालसँग सेटिङ भएका ठेकेदार ज्ञानेन्द्र बस्नेतको टोलीले गुणस्तरमा पनि मिलेमतो गरी सशस्त्रमा एक्लौटी ठेक्का लिने गरेका छन् । सशस्त्रमा ठेकेदार बस्नेतसँग आइजीपी खनालको साझेदारी नै रहेको चर्चा पनि हुने गरेको छ । ठेकेदार बस्नेतले २०७६ साउन २ मा भएको बोलपत्रमा अधिकांश सामानको ठेक्का पाएका थिए । जुन २८ करोड बराबरको छ । यसरी सशस्त्रका ठेक्का सबै उनले नै पाउनुमा साझेदारीकै कारण भएको स्रोत बताउँछ ।
आइजीपी नियुक्त हुँदा ठूलै रकम खर्च भएकाले खनालले बस्नेतसँग विनालगानी नाफाको आधा हिस्सा बाँड्नेगरी सशस्त्रको सबै ठेक्का उनलाई दिने गरेको स्रोतको दाबी छ । ज्ञानेन्द्र बस्नेतकै डिजाइनमा इन्द्र श्रेष्ठले चुस्ताको ठेक्का पाएका छन् । यी सबैको गुणस्तर विभागका सुवेदीसँग सेटिङ छ । जसमा विभागका महानिर्देशक विश्वबाबु पुडासैनी पनि सामेल छन् ।
सशस्त्रको प्रबन्ध, बजेट र लेखामा आइजीपी खनालले आफ्ना विश्वासपात्र राखेका छन् । चालु आर्थिक बर्षको ठेक्कामा सशस्त्रमा सेटिङ गरी बस्नेतको टोलीलाई ठेक्का दिइयो । जुन सेटिङ मिलाउने काम प्रबन्ध शाखाका तत्कालीन डीएसपी र एसपी बढुवापछि पनि प्रबन्धमै कार्यरत दीपेन्द्र शाहले गरेका हुन् । एसपी शाहलाई हालै सशस्त्रको बलम्बुस्थित गणको गणपतिमा सरुवा गरेका छन् । प्रबन्धमा बसी आइजीपी खनालले सेटिङ गरेका ठेकेदारसँग समन्वय गरेबापत उनलाई पुरस्कृत गरी बलम्बुमा पठाइएको छ । अहिले ठेकेदारहरुले सामान धमाधम बुझाइरहेका छन् । सामान बुझाउने बेलामा आइजीपी खनालले प्रबन्धमा आफ्नै जिल्लाका एसपी धु्रव कार्कीलाई ल्याएका छन् ।
ज्ञानेन्द्र बस्नेतले नेपालमै उत्पादित फिटराइट सु कम्पनीको डीएमएस बुट आपूर्ति गर्ने कबोल गरेका थिए । तर उनले फिटराइटमा जुत्ता नबनाई भारतमा गएर बनाई सशस्त्रमा बुझाएका छन् । नेपालको उत्पादनलाई १० प्रतिशत महंगो भए पनि खरिद गर्नुपर्ने सहुलियत दिएकाले त्यसअनुसार बस्नेतले नेपालको कम्पनीबाट उत्पादन गर्ने भनेर बोलपत्रमा उल्लेख गरे । तर भारतमा तयार गरेर ल्याई बुझाएका छन् ।
सशस्त्रका अधिकारी भन्छन्–डीएमएस बुट नेपालमा उत्पादन गर्ने भनेर बोलपत्रमा लेख्ने तर सबै भारतमा तयार गरी ल्याउने काम भइरहेको छ । योभन्दा लुट के हुन्छ ?सशस्त्रको भण्डारमा अख्तियारले अनुगमन गरी बोलपत्रका कागजात र बुझाइएका सामानको विवरण छानबिन गरेमा आइजीपी खनालको संलग्नतामा भएको ब्रम्हलुटको पर्दाफास हुनेछ ।
त्यस्तै सशस्त्रमा ठेकेदारले पूरा सामान नबुझाउँदै गुणस्तर टेष्टमा पठाउने गरिएको छ । जबकि सामान सबै बुझाइसकेपछि त्यसमध्येबाट निश्चित थान लिएर गुणस्तर टेष्ट गराउनुपर्ने हो, तर ठेकेदारले १०–१५ प्रतिशत पनि नबुझाई टेष्ट गर्न पठाइएको छ । टेष्ट गर्न पठाउँदा ठेकेदारले दिएको नमूना पठाइएको छ । बुझाएका सामानमध्येबाट पठाउनुपर्नेमा ठेकेदारले दिएको पीस टेष्ट गर्न पठाई सामान पास गराई भुक्तानी दिने काम भइरहेको छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend