काठमाडौं, ३० जेठ । कोरोना भाइरस रोकथामको लागि लागू गरेको लकडाउनसँगै नेपालको बाह्य व्यापार प्रायः स्थिर देखिएको थियो । तर पछिल्लो समय लकडाउन केही रुपमा खुकुलो बनाएपछि व्यापार बढ्न थालेको छ । नेपाल र भारत दुवै देशमा लकडाउन खुकुलो हुन थालेपछि नेपालको बाहृय व्यापार बढ्न थालेको हो । भन्सार विभागका अनुसार लकडाउन खुकुलो भएको कारण भन्सार कारोबारमा उल्लेख्य सुधार भएको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले लकडाउनको सुरुआती हप्ताको तुलनामा भन्सारको दैनिका कारोबार दुई अर्ब ४० करोड हाराहारीले बढेको बताए ।
लकडाउनको पहिलो हप्ता दिनको ५० देखि ६० करोडको हाराहारीमा हुने गरेको औसत आयात जेठ अन्तिममसम्म आईपुग्दा दैनिक तीन अर्बको हाराहारीमा पुगेको महानिर्देशक दाहालको भनाइ छ ।
यसअघि कोरोना असर तथा लकडाउन नहुँदा दैनिक औसत ५ अर्बको भन्सारको कारोबार हुने गरेको थियो । जेठ २५ गतेसम्मको विवरणमा भन्सार कारोबार ६० प्रतिशत हाराहारीमा पुगेको महानिर्देशक दाहालले बताए ।
पछिल्लो चार दिनमा बढेको भन्सारको आयात चाप हेर्दा कारोबार ७० प्रतिशत हाराहारी पुगेको हुन सक्ने उनले बताए ।
बिहीबार मात्रै विराटनगर नाकामा नेपाल भित्रिने मालबाहक सवारी सरिसाधनको लाम केही किलोमिटरसम्म पुगेको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।
नेपाल र भारत दुबैतर्फ लकडाउन खुकुलो भएपछि केही दिनदेखि सबै नाकाबाट आयात बढ्न थालेको विभागले जनाएको छ ।