काठमाडौं, २९ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यो बर्ष एसईईको परीक्षा नगर्ने निर्णय बुधबारको मन्त्रिपरिषदले गरेको छ । यो बर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा ग्रेड निर्धारण गरी असारभित्रै विद्यार्थीका हात हातमा एसईईको प्रमाणपत्र दिइने शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । उनले भने–असार महिनाभित्र एसईईको सबै काम सक्नेगरी तयारी भैरहेको छ ।
गत चैतमा ५ गते स्थगित भएको २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएपछि मन्त्रालयले कार्यविधि निर्माण शुरु गरेको छ । मन्त्री पोखरेलले राष्ट्रिय बोर्डले कार्यविधि निर्माण गरेपछि प्रक्रिया शुरु हुने बताएका छन् । त्यसअघि मन्त्रिपरिषद्को निर्णय प्रमाणिकरण भई मन्त्रालयमा आउने क्रममा रहेको उनले बताए ।
अभिभावक महासंघ, प्याब्सन रएन प्याब्सनले मन्त्री पोखरेलले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
बोर्डले कार्यबिधि बनाएर प्रमाणिकरण गरेपछि असारभित्र सबै प्रक्रिया शुरु गर्ने मन्त्री पोखरेलले जानकारी दिएका छन् । मन्त्री पोखरेलले भने, सबै कार्यविधि तयार भएर बोर्डबाटै प्रमाणीकरण गरी प्रक्रिया शुरु गर्नुपर्ने भएकाले केही दिन ढिलो हुनसक्छ । तर सबै प्रकृया असारमा सम्पन्न गर्नेछौ, विद्यार्थीलाई बोर्डले नै लब्धाङकपत्र दिनेछ । सरकारले नया निर्णय गरेपछि देशभर देशभरी ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
सरकारले नौलो निर्णय गरेपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई राहत महशुस भएको छ । बोर्डले एसईई पूर्व तयारी स्वरुप प्रश्नपत्र छपाई र अन्य प्राविधिक काम गर्न करिब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ ।