काठमाडौं, २९ जेठ । कोरोना भाइरस.(कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले लकडाउन खुकुलो पार्न तीन चरणका कार्यक्रम लागू गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा कृषिसँग जोडिएका क्रियाकलापलाई अघि बढाउने, कम जोखिमका क्षेत्रहरुमा बजारहरु स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसार खुलाउन दिने निर्णय भएको छ ।
पहिलो चरणको परिर्वतित मोडालिटीका आधारमा अर्को चरणमा लामो दूरीका सवारी साधन तथा विद्यालयहरु खुलाउने विषयमासमेत औपचारिक निर्णय गर्ने सरकारको तयारी छ ।पहिलो चरण २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ।
त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ ।बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गरिएको हो ।
संक्रमित बढिरहेको बेला सरकारले लकडाउन खोल्दै जाने निर्णय गरेको छ । ब्यवसायीको बिरोधका कारण सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरिएको थियो ।