Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री राउतको राजीनामा मागियो


    बुधबार, जेष्ठ २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • लालबाबु राउत, योगेन्द्र राय यादव, शैलेन्द्र साह र चन्द्रभूषण साह

    काठमाडौं, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ । नेकपा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चन्द्रभुषण साहले भ्रष्टाचार तथा अनियमिततामा संलग्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले कारवाही नगरेको आरोप लगाउँदै राजीनामा दिनुपर्ने बताएका छन् ।

    ‘आफैले नेतृत्व गरेको सरकारभित्रको राज्यमन्त्री स्वयं आफैं बोलिरहेको स्पष्ट अडियो चौतर्फी भाइरल भई सम्बन्धित पक्षले स्वीकार समेत गरिसक्दा पनि कारवाही गर्न नसक्ने निरीह, लाचार एवं असक्षम मुख्यमन्त्री लालबाबु राउत पनि आफ्नो पदमा रहिरहनुको अब कुनै पनि तुक र औचित्य छैन’साह भन्छन् ।

    केही समयअघि प्रदेश २ का राज्यमन्त्री योगेन्द्रराय यादवले भ्रष्टाचार र अनियमिततामा प्रकरणमा आफू जसरी पनि जोगिने तथा अब केवल मन्त्री शैलेन्द्र साहमात्र फस्ने कुरा स्पष्ट रुपमा गरिरहेको अडियो सार्वजनिक भएपछि उनको बचाउमा मुख्यमन्त्री राउत लागेको आरोप उनको छ ।

    राज्यमन्त्री यादवको सो अडियो भाइरल हुँदा समेत मन्त्रीद्वय साह र यादवले न्यूनतम नैतिकताको आधारमा राजीनामा दिन नसक्नु पदलोलुपता एवं निर्लज्जताको पराकाष्टा रहेको चर्चा प्रदेश २ मा हुने गरेको छ ।

    ‘आम जनताको रगत र पसिना मिसिएको करबाट तलब–भत्ता खाने हाम्रा प्रदेश सांसदहरुलाई समेत यी र यस्ता जनपक्षिय जनसेवा र जनसरोकारका विषयहरुमा सशक्त रुपमा निरन्तर आवाज बुलन्द गर्न विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दै बेथिति र भ्रष्टाचारमा संलग्न राज्यमन्त्री तथा मन्त्री सहित निकम्मा २ नं. प्रदेश सरकारका नाइके मुख्यमन्त्री लालबाबु राउतको राजीनामा जोडदारपूर्वक माग गर्दछु’ साहले लेखेका छन्, ‘आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन यस विषयप्रति सम्बन्धित सबै पक्षको समयमैं गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छु ।’

    नेकपा नेता साहले प्रदेश सरकार पीसी र कमिशनको भरमा योजना बिक्री–वितरण, मन्त्रालयबाट नै व्यक्तिको मोबाइल नम्बर तोकेर बजेट निकाशा, पूर्वाग्रही एवं वितरणमुखी बजेट बाँडफाँड, खरीदमा घोटाला जस्ता अनगिन्त अनियमितता, भ्रष्टाचार एवं ब्रह्मलुटमा चुर्लुम्म डुबेको कुरा घाम जतिकै छर्लङ्ग रहेको बताए ।

    कोरोना भाइरसको महामारी र लकडाउनका बेला मुख्यतः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय थप संवेदनशील हुदै कम्तीमा प्रदेशभरका किसानहरुको लागी समयमैं आवश्यक मात्रामा उच्च गुणस्तरका विउ–वीजन, मल–खाधहरूको सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी, कृषि बालिनालीका लागी आवश्यक बजार व्यवस्थापन तथा शीत–भण्डारण, कृषि क्षेत्रमा वैज्ञानिक आधुनिकीकरणको मद्दतले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन ठोस कार्ययोजना सहितको कार्यान्वयन गर्नुपर्ने माग उनले गरे ।

    तर आफ्ना आधारभूत काम, कर्तव्य एवं जिम्मेवारीबाट विमुख भई कहिले पम्पिंग सेट खरिदमा त कहिले कृषि ज्ञान केन्द्रमार्फत् निरन्तर ब्रह्मलुट मचाऊदै आएको आरोप उनले लगाएका छन् ।

    शुरुदेखि नै जुनसुकै कमीकमजोरी, अपराध तथा अकर्मण्यता ढाकछोप गर्न सम्पूर्ण दोष एवं आरोपहरु संधै संघीय सरकारमाथी थुपारी गाली मात्र गर्ने प्रदेश सरकारले जनताको हित एवं चाहना बमोजिम काम गर्न नसकेको साहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार