काठमाडौं, २७ जेठ । रेडियो प्रसार सेवा विकास समितिका निर्देशक सुरेशकुमार कार्कीले राजीनामा दिएका छन् । उनले बुधबार रेडियो नेपालबाट राजीनामा दिएका हुन् । राजीनामापत्रमा उनले रेडियो नेपालबाट स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
२०६९ मंसिर १९ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका संचारमन्त्री राजकिशोर यादवले उनलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ माघ ६ मा तत्कालीन संचारमन्त्री राम कार्कीले उनलाई पुनः नियुक्ति गरेका थिए ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा ७ बर्ष ५ महिना २० दिन बिताएका उनको दोस्रो कार्यकाल ८ महिना बाँकी थियो । ८ महिनाअघि उनले राजीनामा दिएका छन् । रेडियो नेपालको खुमलटारको जग्गा लिज प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । रघु मैनाली नेतृत्वको छानबिन समितिले उनले खुमलटारको जग्गा लिजमा अनियमितता गरेको प्रतिवेदन दिएको छ । उनीबिरुद्ध मन्त्रिपरिषदले एकपटक स्पष्टीकरण लिइसकेको छ भने अर्को स्पष्टीकरण मागेर बर्खास्त गर्नेश तयारी गरेपछि उनले राजीनामा दिएका छन् ।