ऋषि राजभण्डारी, धनराज ज्ञवाली र उदयराज सापकोटा
काठमाडौँ – न्याय सेवा आयोगको सोमबार बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा ऋषि राजभण्डारीलाई सरुवा गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव राजभण्डारीलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ । कानुन मन्त्रालयका सचिव राजीव गौतमको सोमबारै अवकाश भएको हो । तर उनी आइतबारै बिदाइ भइसकेका छन् ।
त्यसैगरी आयोगको बैठकले कानुन समूहको रिक्त दुई सचिव पदमा उदयराज सापकोटा र धनराज ज्ञवालीलाई बढुवा गरेको छ । सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । ज्ञवाली कानुन मन्त्रालयमै कार्यरत रहेका छन् भने सापकोटा अर्थमन्त्रालयको कानुन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।
त्यसैगरी आयोगको बैठकले ८५ जनालाई वरियता एवं जेष्ठताका आधारमा नायबसुब्बाबाट अधिकृतमा बढुवा गरेको छ । बैठकले चारजना उपसचिव र १५ जना अधिकृतको सरुवा समेत गरेको छ ।
न्यायसेवाका अधिकृत कर्मचारीको नियुक्ति, सरुवा र बढुवा न्यायसेवा आयोगको सिफारिस बमोजिम हुने संवैधानिक ब्यवस्था रहेको छ । अन्य समूहको सचिव बढुवा गर्दा एक पदमा तीन सहसचिव सिफारिस गर्ने ब्यवस्था छ । तर कानुन समूहमा आयोगले एक पद रिक्त भए एकमात्र उम्मेदवार सिफारिस गर्ने ब्यवस्था छ । न्यायसेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष,सदस्यहरुमा कानुन मन्त्री, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश, महान्यायाधीवक्ता र लोकसेवा आयोगका अध्यक्ष सदस्य रहने ब्यवस्था छ ।