सूर्य उपाध्याय र रतनलाल संघाई
काठमाडौं । नेपाल प्रहरीका आइजीपी ठाकुर ज्ञवालीको कार्यकाल अब ३१ दिनमात्र बाँकी छ । कार्यकाल सकिनै लागेका आइजीपी ज्ञवालीका नजिकका अधिकृतहरु जे जसरी हुन्छ कमाउधन्दातिर लागेका छन् । उनीहरुले २ बर्षअघि प्रहरीले नै गुणस्तर चेक गर्न पठाउँदा फेल भएको ऊलन पाइन्टको कपडा अहिले लिने तयारी गरेका छन् । रतन संघाई, पवन संघाई र पिताम्बर मुन्काको मुनीलाल मागीलालले २ बर्षअघि ऊलन पाइन्टको कपडाको ठेक्का पाएको थियो ।
मुनीलाल मागीलालले बुझाएको उक्त ऊलन पाइन्ट प्रहरीले गुणस्तर चेकका लागि पठाउँदा फेल भएको रिपोर्ट आएको थियो । प्रहरीले गुणस्तर फेल भएपछि टेण्डर दर्ता गर्दा बुझाएको धरौटीबापत राखेको बैंक ग्यारेन्टी जफत गरी मुनीलाल मागीलाललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो । मुनीलाल मागीलालले प्रहरीको निर्णय बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतमा पनि मुद्दा जिताउने काम संघाईहरुले गरे । अदातलमा पहुँच भएका उनीहरुले गुणस्तर फेल भएको कपडा पनि खरिद गर्न आदेश दिन लगाए । भारतको प्रसिद्ध कम्पनी इन्टरटेकले गुणस्तर परीक्षण गर्दा फेल भएको रिपोर्ट दिएको थियो ।
प्रहरीका अगाडि फेल भएको र २ बर्षअघिको कपडा लिन दबाब परेको छ । २ बर्षअघिको उक्त उलन पाइन्टको कपडाका लागि छुट्याइएको बजेट फ्रिज भइसकेको छ । तर पनि अदालतको आदेश भन्दै प्रहरीका प्रबन्ध निर्देशनालयका प्रमुख डीआइजी सूर्य उपाध्याय र इन्स्पेक्टर केशव गौतम सक्रिय भएका छन् । आइजीपीका भाइ एसएसपी श्याम ज्ञवाली र सचिवालयका एसपी भूपेन्द्र खत्रीसमेतलाई गुणस्तर फेल ऊलन कपडा खरिद गर्नेगरी संघाईहरुले सहमत गराइसकेका छन् । पिताम्बर मुन्काले आकर्षक आर्थिक प्रलोभनको प्याकेज ल्याएपछि गुणस्तर फेल भएको २ बर्षअघि नै ल्याएको ऊलन पाइन्टको कपडा खरिद गर्न अवकाश हुन लागेका डीआइजी सूर्य उपाध्याय पनि जोडतोडले लागेका छन् ।
रतन संघाई त औषधि बनाउन आयात गरी ल्याइएको पिकसर्स केमिकललाई लागूऔषधको रुपमा बिक्री गरेको आरोपमा ३ बर्षअघि पक्राउ परेका थिए ।