डोटी, २५ जेठ । भारतबाट आएर डोटीस्थित एक क्वारेन्टिनमा बस्दै आएका १९ वर्षीय युवकको मृत्यु भएको छ ।
डोटीको केआई सिंह गाउँपालिका–३ को सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा रहेका १९ वर्षीय युवकको मुत्यु भएको हो । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिएका छन् । उनी मुटुको रोगी भएको जनाइएको छ । उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन् ।
भारतको लुधियानाबाट १९ गते डोटी आएका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा बस्दै आएका थिए ।
मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् । क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाइने र भरसक साँझसम्म रिपोर्ट आउने मलासीले जानकारी दिए । उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।
घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताएका छन्।