काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट शनिबार थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरेका हुन् । मिर्गौला रोगबाट पीडित ती महिलाको जेठ २३ गते दिउँसो सेती अस्पतालमा डायलासिस गराउने क्रममा मृत्यु भएको थियो । तर, उनको रिपोर्ट भने शनिबार मात्र आएको हो ।
त्यस्तै ४ दिनअघि मृत्यु भएका डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनको स्वाब टेष्टको रिपोर्ट शनिबार मात्र आएको हो । उनको जेठ २० गते नै मृत्यु भएको थियो । उनको सबको अन्त्येष्टी गर्नेहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि जगदुल्लाको सीमा सिल गरिएको छ ।