अमर खत्री, बैद्यनाथ दास, मोख्तार र सुरेश यादव
बीरगंज । लकडाउनको मौका छोपी बीरगंज नाकाबाट नेपाल प्रहरी नै तस्करीमा संलग्न हुने गरेको छ । सशस्त्रका सईलाई थर्काएर प्रहरीले नै रक्सीको तस्करी गरेको समाचार बाहिर आएको छ । बिहीबार कालो रङको स्पेन्डर मोटरसाइकलमा प्रहरीले नै रक्सी भारततर्फ लाने क्रममा सशस्त्र प्रहरीका ड्युटीमा रहेका सईले रोक्न खोजेका थिए । तर प्रहरीले मोटरसाइकल नै रोकेनन् । मोटरसाइकलमा मदिरा बोकेकाले नरोकी सीमापारी पुर्याएका थिए । भारतको बिहार राज्यमा मदिरा बिक्रीबितरणमा रोक लगाएपछि नेपाली सीमाबाट तस्करी ब्यापक हुने गरेको छ ।
इनर्र्वा चौकीका इन्चार्ज बैद्यनाथ दासले त्यहाँ कार्यरत सिपाही बिनित चौधरी र राजकिशोर साहलाई मदिरा भारत पुर्याउन परिचालन गर्ने गरेका छन् । बिहीबार पनि उनैले पठाएका थिए । उक्त मदिरा रक्सौलस्थित तस्कर सम्राट भारतीय नागरिक मोख्तारको पसलमा लाने गरिएको छ ।
बिहीबार मदिरा रक्सौलमा पुर्याएर फर्कने क्रममा मोख्तारले विनित र साहलाई सई बैद्यनाथ दासलाई दिन दुईवटा सिलिङ पंखा पठाएका थिए । मदिरा लिएर जादा मितेरी पुलमा ड्युटीमा कार्यरत सशस्त्रका सईले रोक्न खोज्दा नरोकेको बिषयमा फर्कदा उनीहरुवीच विवाद भएको थियो । सशस्त्रका सईले मोटरसाइकलमा गांँजा लगेको भनेर केरकार गरेपछि चौधरी र साह झगडामा उत्रिएका थिए । त्यसक्रममा झण्डै हात हालाहालको अवस्था भएको थियो । सशस्त्रको तर्फबाट मितेरी पुलमा बिहीबार ६ बजेदेखि १२ बजेसम्म ड्युटीमा रहेका सईलाई यसबारेमा २ नम्बर प्रदेशका बाहिनीपतिले सोधपुछ गर्ने हो भने स्पष्ट हुनेछ । बीरगंजको इनर्वा नाकाबाट मदिरा तस्करी हुँदै आएको समाचार बारम्बार आइरहेको छ । प्रहरी मिलेपछि तस्करी हुनु स्वाभाविक हो ।
बिहीबार भारतीय नागरिक मोख्तार आलमको सेटिङमा प्रहरीको संरक्षणमा ठूलो मात्रामा भारत मदिरा तस्करी भैरहेको छ । मोख्तारले इनर्वा चौकीका हवल्दार सुरेश यादवलाई फोन गरी मितेरी पुलमा कसको ड्युटी छ भनी सोधेपछि हवल्दार यादवले ड्युटीमा खटिएका प्रहरीको नाम दिए र मोख्तारले उनीहरूलाई भेटेर सई बैद्यनाथ साहसँग कुरा भैसकेको भनी बिहीबार राति भारतबाट रजनीगन्धा ल्याउने र नेपालबाट मदिरा लैजाने सेटिङ मिलाएका थिए । एसपी गंगा पन्त र निरीक्षक रविभूषण यादवलाई समेत मिलाएको र रकमको सेटिङ भैसकेको भनी अहिले ठूलो मात्रामा मदिरा तस्करीको सेटिङ भैरहेको छ ।
दुई नम्बर प्रदेशका डीआईजी धिरजप्रताप सिंहका घुमुवालाई समेत सेटिङ मिलाइसकेको भन्दै अहिले दिनहुँ सो नाकाबाट मोख्तारको मदिरा तस्करी धन्दा चलिरहेको छ । यो तस्करीको सेटिङमा सशस्त्र प्रहरीको पनि सेटिङ छ । सशस्त्रको भन्सार गुल्मका डीएसपी अमर खत्रीसँग नै मोख्तारको सेटिङ भएकाले बिहीबार सईसँग भएको विवाद पनि सामसुम पारिएको छ ।
राति राति मदिरा तस्करी
इनर्वा भन्सार गुल्मका सशस्त्रका प्रमुख डीएसपी अमर खत्री र वैद्यनाथ दासको सेटिङमा भन्सार कार्यालयको पछाडिपट्टिको गल्लीबाट राति राति मदिरा तस्करी हुँदैआएको छ । राति ९ बजेदेखि अवस्था हेरी १–२ बजेसम्म पनि नेपालको सीमाबाट भारततर्फ मदिराको तस्करी हुने गरेको छ । त्यो गल्लीमा बत्ती नभएको र कच्ची बाटो भएकाले तस्करी गर्न प्रयोग हुँदैआएको छ । मोख्तारले नेपालबाट भारत मदिरा ओसार्नका लागि १२ जना मानिस खटाएको स्रोत बताउँछ । उनीहरुले हरेक रात ३ देखि ५ पटकसम्म मदिरा सीमापार गराउने गरेका छन् । मोख्तारको घर मितेरी पुलबाट करिब ३ सय मिटर दूरीमा रक्सौलमा छ । बिहीबार प्रहरी नै संलग्न भएर लगेको र सशस्त्रका सईसँग विवाद भएको कुरा एसपी गंगा पन्तसम्म पुगेपछि क्राइम ब्रान्चका प्रमुख रविभूषण यादवलाई सोधपुछ गर्न शनिबार बिहान खटाएकी थिइन् । मदिरा भारत लाने प्रहरीलाई सोधपुछ गरी फर्किएको छ । जबकि दासलाई इनर्वा नाकाको इन्चार्ज बनाउने नै रविभूषण यादव हुन् । उनीहरु बारा र पर्सामा लामो समय सँगै घुमुवाका रुपमा कार्यरत रहिसकेका हुन् । दास सिपाहीबाट प्रवेश गरी असई हुँदै सई भएका हुन् । यादव असईबाट बढुवा हुँदै इन्स्पेक्टर भएका हुन् । दुवै जनाको घर रौतहट एउटै गाउँमा हो ।
घुसकाण्डमा असई तानिए
यसैबीच पर्साको वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत असई घुस लिएको काण्डमा छानबिनका लागि जिल्ला तानिएका छन् । श्रीपुरमा कार्यरत असई विजय ठाकुर जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सुर्ती तस्करसँग डेढ लाख सेटिङ गरी पचास हजार लिएको जानकारी पाएपछि एसपी गंगा पन्तले जिल्लामा तानेको र छानबिन गरिरहेको थाहा भएको छ ।