अशोक अग्रवाल, रामचन्द्र संघाई, नन्दकिशोर शर्मा, गोविन्द शर्मा र बिमल खेतान
काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौले शुक्रबार न्यून धरौटी लिएर छाडेको छ । पक्राउ परेका हाइप्रोफाइल जुवाडेमध्ये ८ जनासँग ३० हजार रुपैयाँ धरौटी मागिएको छ भने १ जनासँग ४० हजार मागेको छ । पक्राउ परेका मध्ये अशोक अग्रवाल गिनीको अवैतनिक दूत भएकाले उनीसँग थप १० हजार रुपैयाँ धरौटी मागिएको छ । उनी सार्वजनिक ओहदामा भएकाले थप धरौटी मागिएको हो ।
प्रहरीले होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, सुरेश अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल आउजा, विमल खेतान, र निक्की जोगाईलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । उनीहरुले क्यासिनो शैलीमा जुवा खेल्ने गरेका थिए । जसमा करोडौंको खेल हुने गरेको प्रहरीको निष्कर्ष थियो । तर उनीहरुलाई ३० हजार मात्र धरौटीमा छाडिएको छ ।
हाइप्रोफाइल जुवाडेहरुलाई सुरुमै सुटुक्क छाड्न दबाब परेको थियो । तर प्रहरीले छाडेन । जिल्ला प्रशासन कार्यालयले ५ दिन म्यादथप गरेपछि पनि उनीहरुलाई छाड्न दबाब परि नै रह्यो । कोरोनाको बहानामा छाड्न दबाब परे पनि सरकारी वकिलले अनुमति दिएन । हाइप्रोफाइल जुवाडेलाई छाड्न चर्को दबाब परेपछि प्रहरीले अनुसन्धान ३ दिनमै सकेको थियो ।
हाइप्रोफाइल जुवाडेहरुको नालीबेली
पक्राउ पर्नासाथ छुट्नका लागि सबै शक्ति परिचालन गरेका हाइप्रोफाइल जुवाडेहरुमा रामचन्द्र संघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाई हुन् । संघाई एनआइसी एसिया बैंकका संचालक हुन् । उनी त्रिवेणी गु्रपका पनि संचालक हुन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनाका उपाध्यक्ष पदका उम्मेदवार समेत हुन् । अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स र विशाल ग्रुपका संचालक हुन् । नन्दकिशोर शर्मा ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् ।
उनी नेपालका लागि गिनीका अवैतनिक महाबाणिज्य दूत पनि हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनी पं्रहरीको संरक्षणमा हुन्डी कारोबारबाट उदाएका हुन् । नेपाल प्रहरीमा उचाई कायम गरेका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल र पूर्वएआइजी विज्ञानराज शर्माको रकम समेत उनले चलाएकाले उनीमाथि हुन्डी कारोबार गरेको थाहा पाए पनि प्रहरीले एक्सन लिन सक्दैनथ्यो भन्ने चर्चा हुने गर्दछ । गोविन्द सरिया र पवन सरिया हुन्डीका डन नै हुन् । विमल खेतान गार्मेन्टको काम गर्दैआएका छन् ।
पक्राउ परेकामध्ये जोगाइ होटलका सञ्चालक हुन् । भारतीय नागरिक होटल संचालक जोगाई अशोक अग्रवालका ज्वाई हुन् । बीएल शर्मा संग क्याटरिङ व्यवसायमा सहायकका रुपमा आएका गोपाल पी जोगाईका छोरा निकी जोगाई नेपालमा उद्ययोग व्यवसाय गरेर बसेका र नेपालमा जुवा खेलाउने र पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बाैको कारोबार गर्दै आएका व्यक्ती हुन् । बिमल आहुजा विशाल ग्रुपकै संचालक हुन् ।