काठमाडौँ, २३ जेठ l राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामामा क्षमताभन्दा तेब्ब्र नमुना संकलन भएपछि सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेको छ । केही समययता भारतबाट नेपाल आउने मानिसको संख्या बढेसँगै महाशाखामा नमूनाको चाङ लागेको छ ।
प्रयोगशालाकी निर्देशक डा. रूना झाका अनुसार निजी क्षेत्रलाई क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस गर्न अनुरोध गरिएको छ । त्यसपछि एउटा मापदण्ड तय गरेर अनुमति दिइने छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको बताइन्। जबकी प्रयोगशालाको दैनिक क्षमता नै एक हजार छ।
यसरी प्रयोगशालाहरूमा क्षमताभन्दा तेब्बर नमूना संकलन हुँदा समयमा परीक्षण हुन नसकेको हो।
तर निजी क्षेत्रसँग परीक्षणमा सहकार्य गर्दा यो चाप अलिकति सहज हुने देखिन्छ।
निजी क्षेत्रसँग कोरोनाको परीक्षण गर्न मिल्ने ६ वटा प्रयोगशाला छन्।
यी सबै ‘ग्रेड ए’ का प्रयोगशाला हुन्।
स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारवाही निर्देशिका २०७३अनुसार ‘ग्रेड ए’ मा सूचिकृत प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न सक्नेछन्।
साथै स्वाइन फ्लू, कोभिड १९ जस्ता सुरुवा रोग परीक्षण गर्न सकिने उल्लेख छ।
सरकारले निजी क्षेत्रका प्रयोगशालालाई अनुमति दिए दैनिक १५०० जनाको कोरोना परीक्षण गर्न सकिने देखिएको छ।
अहिले दैनिक ३ हजार जनाको परीक्षण हुँदै आएको छ।
पछिल्लो समय भारतबाट ठूलो संख्यामा मानिसहरू आएसँगै परीक्षणको चाप ह्वात्तै बढेको हो।
त्यसमाथि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आएका मानिसहरूको आरडिटी पनि गरिँदैछ।
उनीहरूको पनि अनिवार्य पिसिआर गर्ने हो भने परीक्षण गर्नै नसकिने अवस्था सिर्जना हुन्छ।
परीक्षणको दायरालाई बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूला क्षमताको थप मेसिन खरिदको लागि सरकारलाई सिफारिस गर्ने जनाएको छ।
तर ती मेसिन कहिले आइपुग्छ भन्ने टुंगो छैन।
सरकारले तेस्रो मुलुकबाट समेत आफ्ना नागरिकलाई उद्दार गरेर ल्याउने भनेपछि परीक्षणको चाप थप बढ्ने देखिन्छ।