विराटनगर, २२ जेठ । प्रदेश १ का थप २८ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुन लागेको बताए । २८ जनामध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।
कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सरकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।
यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।