सुर्खेत, २२ जेठ । गत जेठ ९ गते भारतबाट नेपाल फर्किएका एक युवक क्वारेन्टाइनबाट घर पुगेपछि मृत्यु भएको छ ।
पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो।
युवक पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका थिए।उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो।
बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो।नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए।स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो।
ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिन राखिएको थियो। रासस