प्रल्हाद पोखरेल, डा. लक्ष्मण खड्का र धिरज थपलिया
काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुमा उपकरण खरिददेखि मर्मतमा ठूलो भ्रष्टाचार हुँदैआएको छ । महालेखा परीक्षकको कार्यालयका हरेक बर्षका प्रतिवेदनमा करोडौंदेखि अरब मूल्यका उपकरण खरिदमा भ्रष्टाचार भएको उल्लेख हुन्छ । तर महालेखाले बर्षैपिच्छे प्रतिवेदनमा भ्रष्टाचार भएको तथ्य सार्वजनिक गरे पनि उपकरण खरिदमा हुने भ्रष्टाचार कम होइन, बढी हुँदै गएको छ । त्यसको पछिल्लो उदाहरण हो, सिन्धुली अस्पताल । उक्त अस्पतालले २०७६ फागुन १ मा Colourdoppler Ultrasound Machine with convex, Linear, endocavity and cardiac multiplefrequency probes खरिदका लागि टेण्डर गरेको थियो । अस्पतालले आह्वान गरेको बोलपत्रमा ७ वटा कम्पनीले उपकरण आपूर्तिका लागि प्रस्ताव हालेका थिए । सात वटा मध्ये ५ वटा छनोट भएका थिए ।
छनोट भएका ५ कम्पनीमा लुम्बिनी हेल्थ केयर प्रालि, हस्पिटेक इन्टरप्राइेजज प्रालि, जनमुक्ति हेल्थ प्रालि, निदान मेडिसोलुसन प्रालि, मेडिट्रोनिक्स नेपाल प्रालि थिए । यी मध्ये पहिलो, दोस्रो र तेस्रो कम दरमा बोलपत्र पेश गर्नेलाई छनोट नगरी अनियमित ढंगले चौथो मेडिट्रोनिक्स नेपाल प्रालिको बोलपत्र स्वीकृत गरिएको छ । प्रथम र चौथो कम्पनीको रकमको फरक ७ लाख २४ हजार ४ सय ३० रुपैयाँ छ । लुम्बिनी हेल्थकेयरलेसबैभन्दा कम दर २४ लाख ७३ हजार ५ सय ७० रुपैयाँमा दक्षिण कोरियाको चर्चित ब्रान्ड अल्फिनियनको उपकरण दिने प्रस्ताव बोलपत्रमा गरेको थियो । तर सिन्धुली अस्पतालले मेडिट्रोनिक्सबाट ३१ लाख ९८ हजार रुपैयाँमा खरिद गर्न लागेको छ । मेडिट्रोनिक्सले कोरियाको सामसुङ कम्पनीको उपकरण सप्लाई गर्ने बोलपत्रमा उल्लेख छ ।
प्राविधिक मूल्यांकनका नाममा मोलमोलाई गरी लकडाउनको मौका छोपी अरु आपूर्तिकर्तालाई थाहा पत्तो नै नदिई धिरज थपलियाको मेडिट्रोनिक्ससँग ७ लाख २४ हजार ४ सय ३० रुपैयाँमा खरिद गर्ने निर्णय सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेल र मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मण खड्काले सम्झौता गरेका छन् ।
जिल्ला अस्पताल सिन्धुलीका पोखरेल र खड्काले कम दरमा बोलपत्र पेश गरेको चर्चित कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गरेनन् । महंगो दरमा बोलपत्र पेश गरेको थपलियाको मेडिट्रोनिसक्ससँग घुस लिएर उपकरण खरिद सम्झौता सुटुक्क गरेका छन् । यसरी उपकरण खरिदमा कम दरमा प्रस्ताव गर्ने कम्पनीलाई उपयुक्त कारण नदेखाई प्राविधिक मूल्यांकनका नाममा घुस दिने कम्पनीसँग खरिद गरिएकाले पोखरेल र डा्. खड्कालाई कारबाही गर्न माग गर्दैै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नारायण क्षेत्रीले २०७७ जेठ २१ मा दिएको उजुरीको दर्ता नम्बर सी–०३२६६७ हो ।