प्रज्ञा भवन पछाडिको यही होटलमा जुवा खेलिरहेको अवस्थामा हाइप्रोफाइल जुवाडेहरु सोमबार पक्राउ परेका थिए ।
काठमाडौं । गणगौर रिजेन्सी बुटिक होटलबाट सोमबार राति जुवा खेल्दाखेल्दै पक्राउ परेका ७ ब्यापारीको मंगलबार राति हाजिर जमानीमा छुट्ने प्रयास असफल भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्यादथप भएपछि कोरोना भाइरसको संक्रमणको त्रास देखाएर हाइप्रोफाइल मारवाडी जुवाडेलाई छोड्नका लागि महानगरीय आयुक्त डीआइजी विश्वराज पोखरेल र काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहाललाई निर्देशन दिए । सरकारी वकिल कार्यालय काठमाडौंसँग सहमित लिएर जुवाडे छाड्न डीआइजी र एसएसपीको निर्देशनमा डीएसपी दाहालले हाजिर जमानीमा छाड्ने हो भने किन ५ दिन म्यादथप गरिएको त भन्ने प्रश्न उठ्नेतर्फ ध्यानाकर्षण गराए । तर डीआइजी र एसएसपीले खुरुक्क सरकारी वकिलमा पत्र पठाउन भनेपछि उनले पठाए । तर सरकारी वकिल कार्यालयले म्यादथप गरिसकेका जुवाडेलाई हिरासतमुक्त गर्न नमिल्ने जवाफ दियो ।
सरकारी वकिल कार्यालयले हिरासतमुक्त गर्न सहमति नदिएपछि एसएसपी ज्ञवालीले ठाडो प्रस्तावमा हाजिर जमानीमा छाड्न निर्देशन दिए । स्रोतका अनुसार डीएसपी दाहालले लिखित रुपमा आदेश चाहिन्छ, अन्यथा आफूले छाड्न नसक्ने जवाफ कमाण्डर ज्ञवालीलाई दिए । एसएसपी ज्ञवालीले लिखित आदेश दिने कुरै भएन । सोमबार पक्राउ परेका जुवाडेको बास मंगलबार पनि हिरासतमै भयो । काठमाडौंका सीडीओ जनकराज दाहाललाई शक्तिकेन्द्रमार्फत् चर्को दबाब दिएर म्यादथप नगर्न चलखेल गरेका जुवाडेहरुको प्रयास असफल भयो । दोस्रो प्रयास सरकारी वकिलसँग सहमति लिएर हाजिर जमानीमा छुट्ने कोसिस पनि नाकाम भयो । तेस्रो प्रहरीको ठाडो प्रस्तावमा हाजिर जमानीमा छुट्न डीआइजी र एसएसपीमार्फत गरिएको पहलकदमी पनि असफल भएको थियो ।
ठाडो प्रस्तावमा हाजिर जमानीमा जुवाडे छाड्न नमानेपछि डीएसपी दाहालसँग परिसर र आयुक्त कार्यालयका प्रमुख रुष्ट भएका छन् । आज पनि जुवाडे छुटाउने कसरत भइरहेको छ । ठाडो प्रस्तावमा उनीहरुलाई छाड्न डीएसपी दाहालमाथि दबाब परिरहेको छ । आज उनले माथिल्ला निकायका हाकिमको आदेश नमानेमा उनलाई सरुवा नै गर्नेसम्मको तयारी भएको स्रोत बताउँछ ।
सोमबार राति महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले गणगौर रिजेन्सी बुटिक होटलबाट एनआइसी एसिया बैंकका संचालक रामचन्द्र संघाई, लाइफ इन्स्योरेन्स कम्पनीका संचालक तथा विशाल गु्रपका एमडी अशोककुमार अग्रवाल, ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मालाई पक्राउ गरेको थियो ।
त्यस्तै ब्यापारीहरु विमल खेतान, विमल अउजा,सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए । जोगाईले होटलमा यसरी हाइप्रोफाइल मारवाडीलाई बषौैदेखि जुवा खेलाउँदैआएका थिए ।