एकनारायण अर्याल, हरि बस्याल, तोयम राया, सूर्य गौतम, रामप्रसाद थपलिया र केदार न्यौपाने
काठमाडौं । नेपाल सरकारका तीन वटा मन्त्रालयमा सचिव रिक्त भइसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल अवकाश भएको १ महिना पूरा भइसकेको छ । उनी २०७७ बैशाख १९ गते अवकाश भएका हुन् । त्यसैगरी संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी जेठ १ मा अवकाश भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी जेठ १२ मा अवकाश भएका हुन् ।
तीन वटा मन्त्रालयमा सचिव रिक्त हुँदा पनि सरकारले सचिवहरुको फेरबदल नगर्दा ती मन्त्रालय निमित्त सचिवका भरमा संचालित छन् । ७ वटै प्रदेशमा धमाधम बजेट प्रस्तुत गर्ने कार्यक्रम भएकाले पनि सचिव सरुवामा बिलम्ब भएको प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् । ती अधिकारीका अनुसार आगामी असार १ गतेसम्म प्रदेशको बजेट सार्वजनिक हुन्छ । त्यसपछि मात्र सचिवहरुको हेरफेर हुनेछ । प्रदेशका प्रमुख सचिव नयाँ जाँदा बजेटको बारेमा नबुझ्ने भएकाले पनि सरुवा नगर्न मुख्यमन्त्रीहरुको आग्रहपछि सरकारले सचिव सरुवा तत्काल नगरेको हो । यो लकडाउनमा सचिव नभएर कुनै पनि काम नै रोकिने अवस्था पनि नभएको र प्रदेशमा बजेटको तयारीमा नयाँ सचिव पठाउँदा तालमेल नमिल्ने भएकाले पनि सरकारले असार लागेपछि मात्र सचिवहरुको सरुवा गर्दैछ ।
एकातिर सरकारले रिक्त सचिवमा कसैलाई जिम्मेवारी नदिएको र अर्कोतिर बढुवा पनि गरेको छैन । बढुवा समितिले सिफारिस गरेको १ महिनासम्म पनि सहसचिव गोकर्णमणि दुवाडीको पदोन्नति गरेको छैन । उनीसँग मुख्यसचिव लोकदर्शन रेग्मी र अर्थमन्त्री डा.युवराज खतिवडा असन्तुष्ट भएकाले बढुवा हुन नसकेको हो । उनको ठाउँमा अर्थमन्त्रालयमा लामो समय बसेका सहसचिव बिष्णु नेपाललाई बढुवा गर्ने पक्षमा रेग्मी र खतिवडा छन् ।
त्यस्तै तीन ठूला मन्त्रालयमा रिक्त सचिवमा सरुवा हुनका लागि गण्डकी प्रदेशका प्रमुख सचिव हरि बस्याल, बागमती प्रदेशका तोयम राया, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल लागेका छन् । बस्याल शिक्षा मन्त्रालयमा आउन खोजिरहेका छन् । उनी शिक्षा मन्त्रालयमा सहसचिवकै रुपमा काम गरिसकेको हुनाले र बालुवाटारको समेत रोजाइमा परेकाले उनको संभावना बढी रहेको छ ।
अर्थ मन्त्रालयमा लामै समय बसेका तोयम रायाको नाम श्रम मन्त्रालयको सचिवमा लिने गरिएको छ । उनलाई अन्तर्राष्ट्रियस्तरमा ‘नेगोसिएसन’ गर्नेदेखि अर्थमा समन्वय गर्नसक्ने खुबी भएकाले श्रममा लान लागिएको चर्चा छ । अर्यालले संचार मन्त्रालयको जिम्मेवारी पाउने संभावना छ । अर्यालसँग संचार मन्त्रालयमा निमित्त सचिवको रुपमा काम गरेको अनुभव छ ।
तर शिक्षा मन्त्रालयको सचिवमा जानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव पनि उत्तिकै लागेका छन् । अहिले संघीय मामिला मन्त्रालयको सचिव हुँदा पनि पदीय गरिमा बिर्सेर उनी प्रायः शिक्षाकै उपसचिव सीताराम कोइरालाको गाडीमा विभिन्न ठाउँमा जाने गरेका छन् । कोइराला काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख हुन् । शिक्षामा लामो समय काम गरेका गौतम लकडाउनमा फर्निचरदेखि १४ वटा शीर्षकमा खर्च नगर्न अर्थमन्त्रालयले गरेको परिपत्र बिपरीत करोडौंको पार्केटिङदेखि फर्निचर र सोफा खरिद गरेर विवादमा आएका छन् । राष्ट्रपति कार्यालयमा २७ लाखको गलैंचा हाल्दा राष्ट्रिय समाचार बन्दा सचिव गौतमले आफ्नो कार्यकक्षमा सोफामात्रै ६ लाखको जडान गरेको बिषय ओझेलमा परेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया पनि शिक्षा मन्त्रालयमा सरुवा हुने दाउमा छन् । उनी शिक्षा नपाए संचार मन्त्रालयका लागि पनि लबिङमा छन् । हरि बस्याललाई युवामा थन्क्याएर थपलियालाई शिक्षा वा संचारमा लान एक समूह सक्रिय छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पनि संचार सचिव हुने रहर गरेकी छन् । पहिलो महिला संचार सचिव हुने रहर पूरा गर्न उनी पनि लागिरहेकी छन् ।
भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपाने पनि शिक्षा वा संचारमा सरुवा हुन खुट्टा उचालिरहेका छन् । गणतन्त्र बिरुद्ध बिषबमन गर्दैआएका मण्डले वकिल बालकृष्ण न्यौपानेका भाइ केदार न्यौपाने उपसचिवदेखि सहसचिवसम्मको जागिर यात्रामा आर्थिक मामलामा अति नै विवादित मानिन्छन् । उपसचिव हुँदा काठमाडौं लगायतका जिल्लामा एलडीओ हुँदा अकूत सम्पत्ति आर्जन गरेका उनी सहसचिव हुँदा अध्यागमनको महानिर्देशक हुँदा अति नै बदनाम भएका थिए । अध्यागमनमा उनले भिसाको म्याद सकिसकेपछि पनि नेपालमा बस्ने विवादास्पद विदेशी(ओभरस्टे)हरुलाई पक्राउ गर्ने र लाखौं लाख घुस लिएर पुनः छाड्ने गरेको आरोप खेपेका थिए ।