Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भेन्टिलेटर परदेशमै रोकियो, नेपालमा ज्यान गयो


    मंगलबार, जेष्ठ २० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं, २० जेठ । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ।

    जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ।

    मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ। आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ।

    सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ। डा. पाण्डेले भने, ‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ। बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन। असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले संक्रमणयुक्त स्थानबाट आएका नेपालीलाई सीमावर्ती क्षेत्रमा राखिएको क्वारेन्टाइन अव्यवस्थित हुँदा संक्रमण झन् बढेको बताए। उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्ति नै असुरक्षित देखिएका छन्। संक्रमित व्यक्तिसँगै बस्नुपर्ने बाध्यता छ। यस कारण पनि भाइरस सर्ने र संक्रमितको संख्या बढ्ने निश्चित छ।’

    भेन्टिलेटर ल्याइँदै

    मुलुकमा पहिलो संक्रमित केस माघ ९ गते देखा परेको थियो। पहिलो संक्रमित केस भेटिएको ४ महिना बितिसक्दा पनि आइसोलेसन बेड र भेन्टिलेटरको व्यवस्था हुन सकेको छैन।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भेन्टिलेटर तथा अन्य आवश्यक सामग्री खरिद गर्ने क्रम अघि बढाइएको बताए। उनले अन्नपूर्णसँग भने, ‘अब संक्रमितको संख्या झन् बढ्ने निश्चित छ। भेन्टिलेटरलगायत अन्य सामग्री बाहिरबाट ल्याउने तयारी अघि बढाइएको छ।’ अमेरिका, जापान र जर्मनीबाट भेन्टिलेटर ल्याउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए। संक्रमित बढिरहेको र नेपालमा रहेका भेन्टिलेटरको संख्या न्यून रहेका कारण तीन÷ चार सय भेन्टिलेटर थप्ने योजना रहेको महानिर्देशक श्रेष्ठले बताए।

    संक्रमितएकैदिन २ सय ३९ 

    सोमबार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना भाइरस पोजेटिभ पुष्टि भएका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

    संक्रमितमध्ये निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ सय २१ पुगेको छ। यो समाचार आजको अन्नपूर्णपोष्टमा दिनेश गौतमले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार