विमल श्रीवास्तव र गणेश थापा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा २० बर्ष ब्रम्हलुट गरेका गणेश थापामा त्यो धङधङ्गीले अझै छोड्न नसकेको देखिएको छ । एन्फालाई पारिवारिक संस्था बनाएर ५९ करोड रुपैयाँ भ्रष्टाचार गरेपछि अघिल्लो संसदको सार्वजनिक लेखासमितिले उनले ५९ करोड भ्रष्टाचार गरेको ठहर गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उनीबाट लाभ लिएर उनलाई क्लीनचिट दिएका थिए ।
अख्तियारले क्लीनचिट दिए पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले उनलाई १० बर्षका लागि निलम्बन गर्यो । त्यसपछि २० बर्षदेखि ब्रम्हलुट गर्दैआएको एन्फामा उनी फेरि हैकम जमाउन नसक्ने अवस्थामा पुगे । थापालाई ४ वर्षअघि फिफाले लाखौं डलर घुस लिएको ठहर गर्दै फुटबल गतिविधिमा संग्लन हुन नपाउने गरी १० वर्षको प्रतिबन्ध तथा २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । नेपालको अख्तियारमा लोकमानसिंह कार्कीलाई प्रभावमा पारी मिलाए पनि फिफामा उनले मिलाउन सकेनन् ।
उनले २०७५ फागुनमा भएको एन्फाको निर्वाचनमा मणि थापालाई जिताएर आफ्नो भ्रष्टाचारको साम्राज्य कायम गर्न खोेजेका थिए । तर एन्फा शुद्धिकरणको नेतृत्व गर्दैआएका कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएपछि उनको सबै सपना तुहियो । एन्फामा भ्रष्टाचारको साम्राज्य चलाएर रमाउँदैआएका उनी निर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाका बिरुद्ध प्रतिनिधिसभामा विवाद निम्त्याउन पर्दापछाडिबाट खेल्न थालेका छन् । अध्यक्ष शेर्पाले भन्दै नभनेको एक अनलाइनको समाचारलाई लिएर बुधबार जनता राष्ट्रिय पार्टीका सांसद विमल श्रीवास्तवले संसदमा उनीमाथि कारबाहीको माग गरेका छन् ।
अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूलाई बदनाम गराउन एन्फाका पूर्वपदाधिकारीहरूले षडयन्त्र रचिरहेको आरोप लगाएका छन् । शेर्पाले एक अनलाइनलाई ‘मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको बताएको’ भन्दै बुधवार प्रतिनिधिसभामा प्रश्न उठाएका थिए । बुधवारको बैठकमा सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताउँदै उनलाई कारबाही गर्न माग गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले त्यो आरोपलाई ठाडै अस्वीकार गरेका छन् । साथै उनले आफूले कहिल्यै मधेसका जनतामाथि त्यस्तो अशोभनीय आरोप नलगाएको तथा आफूले सो अनलाइनसँग बोलेको विषयबस्तु काँटछाँट गरेर प्रस्तुत गरिएको दाबी पनि गरेका छन् । ‘अहिले मेरो नेतृत्वमा एन्फाका कार्यक्रमले गति लिएको छ ।
कारवाहीमा परेका पूर्वपदाधिकारीहरू एन्फाको कार्यक्रमबाट अत्तालिएका छन् । मलाई बदनाम गराउने कोसिस भइरहेको छ,’ अध्यक्ष शेर्पाले भने । साथै उनले गत वर्षदेखि मधेसका ४ जिल्ला महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा खेलाडी उत्पादन गर्न सेनाको ब्यारेकमा नै नियमित प्रशिक्षण दिइरहेको बताउँदै खेलले राष्ट्रियताको भावना बढाउन मद्दत पुर्याउने बताए । सेनासँगको सहकार्यमा ब्यारेकमा प्रशिक्षण लिँदा खेलाडी पनि एक सैनिक झैँ राष्ट्रियताले ओतप्रोत हुने आफ्नो आशयलाई बङ्ग्याएर सदनमा प्रस्तुत गरिएको दाबी उनले गरे ।
शेर्पाले अहिले एन्फालाई विवादमा तानेर आफ्ना स्वार्थपूर्ति गर्न खोज्नेहरूले यो कार्य गरिरहेको आरोप पनि लगाए । साथै उनले राष्ट्रियताका विषयमा आफ्नो स्पष्ट अडान रहेको तथा मधेसका जनतामा राष्ट्रियताको भावनामा कुनै कमी नदेखेको पनि बताए । ‘म मधेस र मधेसका जनताको सम्मान गर्छु । म त्यहाँबाट पनि राम्रा खेलाडी उत्पादन गर्ने पुनीत कार्यमा लागेको छु तर, हाम्रो प्रयासलाई बिथोल्न एउटा गिरोह नै सक्रिय भएर लागेको छ,’ उनले भने । उनले सो गिरोहले नेपाली फुटबलको कहिल्यै विकास नचाहेको तथा एन्फाको माध्यमबाट आर्थिक स्वार्थपूर्ति गर्न खोजिरहेको आरोप पनि लगाए । सांसद श्रीवास्तवले यथार्थ कुरा बुझेर मात्र संसद् जस्तो गरिमामय स्थानमा बोल्नु शोभनीय हुने बताउँदै अध्यक्ष शेर्पाले कसैले भनेको भरमा गलत आक्षेप नलगाउन आग्रह पनि गरे ।
विमल श्रीवास्तव पंचायतकालदेखि २०७४ को चुनावअघिसम्म राप्रपाको राजनीति गर्थे । उनी राप्रपाबाटै पटक पटक चुनाव लडेर बीरगंजको मेयरसमेत भएका थिए । मधेश आन्दोलनदेखि विभिन्न कालखण्डमा बीरगंजको तस्करीमा जोडिने गरेका श्रीवास्तवले गणेश थापाकै सल्लाहबमोजिम एक अनलाइनको समाचारलाई लिएर गरिमामय संसदमा एन्फाका अध्यक्षमाथि कारबाहीको माग गरेको जगजाहेर छ ।
गणेश थापाको श्रीवास्तवसँग पंचायतकालदेखि नै सुसम्बन्ध छ । गणेश थापालाई एन्फामा गरेको भष्टाचारमा अन्तर्राष्ट्रिय संस्था फिफाले कारबाही गर्यो । तर नेपालको अख्तियार दुृरुपयोग अनुसन्धान आयोगले ५९ करोड भ्रष्टाचार गरेको प्रमाण हुँदाहुँदै पनि उनीमाथि मुद्दा दायर गर्न आवश्यक ठानेन । जसको फलस्वरुप उनमा अझै पनि एन्फाको ह्याङ उत्रिनसकेको देखिन्छ । उनी कहिले उनको भ्रष्टाचार छानबिनमा लागेका तत्कालीन सार्वजनिक लेखासमितिका सदस्य रामहरि खतिवडामाथि कुटपिटमा उत्रिन्छन् त कहिले संसदमा श्रीवास्तवहरुलाई प्रयोग गरी आत्मरतिमा रमाउँछन् । नेपाली फुटबलमा म्याच फिक्सिङ जस्तो अपराध गराएर लाभ लिनसमेत पछि नपरेको पुष्टी भइसकेका गणेश थापामाथि लोकमानसिंह कार्कीको बहिर्गमनपछि पनि अख्तियारले छानबिन अगाडि बढाएको छ । अख्तियारको प्रमुख आयुक्तबाट अबको साढे ३ महिनापछि बिदा हुन लागेका नवीन घिमिरेले पनि एन्फाको ५९ करोडको भ्रष्टाचार गुपचुप पारेको आरोप खेप्ने भएका छन् । दीप बस्नेत त आफैं भ्रष्टाचारको आहालमा डुबेको र पंचायतकै अवशेष भएकाले कारबाही नगरे पनि घिमिरेबाट एन्फाको भ्रष्टाचारमा छानबिन हुने अपेक्षा नेपालको फुटबल जगतले गरेको थियो ।
अख्तियारले गणेश थापामाथि अकूत सम्पत्ति आर्जनमा पनि मुद्दा दायर गर्नसक्ने प्रशस्त ठाउँ छ । उनले बुढानीलकन्ठमा जोडेको जग्गा र हेटौंडामा सबै दाजुभाइको सम्पत्ति कसरी खरिद गरे ? यी लगायतका उनको सम्पत्ति छानबिन गरेमा स्रोत पुष्टी हुने आधार छैन । तर अख्तियारले उनको अकूत सम्पत्तिमा पनि छानबिन गर्न आवश्यक ठानेको छैन ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend