Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदमुक्त प्रदेश प्रमुख झाले दिए सबैलाई धन्यवाद, राज्यको सुविधा नलिने 


    मंगलबार, भाद्र १ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले सबैप्रति आभार प्रकट गरेका छन् । ५ महिना २४ दिन प्रदेश प्रमुखको रुपमा काम गरेका झाले उक्त अवधिमा प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएको उल्लेख गरेकाक छन् । उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ–नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गतेको निर्णयबाट प्रदेश नं २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र नताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

    अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ । देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।

    प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकाले मैले निजी सचिवालय राखिनँ ।

    राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्नेगरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो । राज्यकै अंग (निजामती) माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।

    यसैगरी, झाले प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

    झाले आफूलाई प्रदेश प्रमुख जस्तो पदमा नियुक्त गर्ने राष्ट्रपति, नियुक्तिका लागि सिफारिश गर्ने तत्कालीन प्रधानमन्त्री तथा नेपाल सरकारप्रति आभार र कृतज्ञता व्यक्त गरेका छन् ।

    प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्ने प्रदेश नं २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद प्रकट गरेका छन् ।

    झा लेख्छन्–सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार