Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले कार्यदलको बैठक आज पनि बस्ने, सहमतिको दस्तावेज सार्वजनिक होला ?


    शनिबार, असार २६ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा(एमाले)को विवाद समाधान उन्मुख देखिएको छ । सोमबारदेखि कार्यदलको निरन्तरको बैठक र बुधबार प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव नेपालबीच होटल म्यारियटमा भएको वार्ताले एमालेमा सहमतिको बातावरण बन्दै गएको हो ।

    शुक्रबार कार्यदलमा रहेका दुवै समूहका नेताहरुले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेका छन् ।

    शुक्रबार सिंहदरबारमा झण्डै ७ घण्टा बसेको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो । यस्तै माओवादीसँगको एकतापूर्वको २४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।

    कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने दावी गरेको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ । २८ फागुन २०७७ मा माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाउन माधव नेपाल पक्ष सहमत भए पनि त्यति नै संख्या बराबर आफ्नो तर्फबाट पनि राख्नुपर्ने अडान राखेको छ । ५–६ जनासम्म केन्द्रीय सदस्य बनाउन थप्न सकिने तर २३ जना नै थप गर्न नसकिने तर्क ओली पक्षले राखिरहेको छ । त्यसमा पनि संख्या बढाएर भए पनि एकता टुंग्याउन कार्यदलका सदस्यहरुबीच सहमति भएको बताइएको छ ।

    वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय मात्र टुंगिन बाँकी रहेको कार्यदलका सदस्यहरुले बताएका छन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्तरुप पाउने कार्यदलका सदस्यहरुले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार