Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कार्यदलको बैठक आज पनि, विवाद सुल्झने दिशातर्फ


    बुधबार, असार २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको कार्यदल बैठक आज पुन: बस्दै छ । 

    पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सोमबार र मंगलबारको बैठकमा कुनै सहमति हुन नसकेपछि बैठक पुन: आज बस्न लागेको हो। 

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। यसअघि सोमबार पनि कार्यदल बैठक बसेको थियो । उक्त बैठकमा पनि सहमति हुन नसकेपछि मंगलबारलाई बैठक बोलाइएको थियो।

    कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

    यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

    यद्यपि एमाले विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन् । विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।  

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा छलफल सुरु भएको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार