काठमाडौं । सरकारले पर्सी आइतबारबाट पर्याप्तमात्रामा कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप नेपाल आउने जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारबाट पर्याप्तमात्रामा कोरोनाको खोप आउने बताएका हुन् ।
नेपालमा अब खोपको अभाव नहुने जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘पर्सीदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’
केही राजनीतिक दलका नेतहरुको खोप आयातमा अवरोध सृजना गरेको आरोप लगाएका प्रधानमन्त्री ओलीले ६ दिनभित्र थप १० लाख डोज खोप आउने बताएका हुन् ।
चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल ल्याउन आउँदो बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने प्रधानमन्त्री ओलीको भनाइ छ ।