काठमाडौं । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ बर्ष पुग्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन । पन्तको हत्यापछि नेपाल प्रहरीमा तीन आइजीपी फेरिइसकेका छन् । सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री । खनालको कार्यकाल भएको पन्तको हत्या उनले पत्ता लगाउन त सकेनन् नै, सरकारले निजामती प्रशासनका अधिकारीको अध्यक्षतामा गठन गरेका छानबिन समितिलाई निरीह भएर स्वीकार्ने र घटनाको ३ दिनपछि गएका सीआइबीका प्रहरी अधिकारीलाई निलम्बन गर्दा समेत मौन रहे । ठाकुर ज्ञवालीले अनुसन्धान गर्छु भनेर सस्तो लोकप्रियताका लागि भाषण त गरे, तर उनको कार्यकाल ४ महिना २४ दिनमात्र थियो । अनुसन्धानको छेउटुप्पो पनि पत्ता लाउन नसकी उनी बिदा भए ।
ज्ञवालीपछि २३ असार, २०७७ मा आइजीपी नियुक्त भएका शैलेश थापा क्षेत्रीले पनि निर्मला पन्त प्रकरण टुंगोमा पुर्याउँछु भन्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । थापाको कार्यकाल पनि २२ महिना भएकाले उनले पन्तको हत्याका दोषी पत्ता लगाउन पर्याप्त समय थियो । तर उनको प्रतिबद्धता पनि उनका पूववर्ती खनाल र ज्ञवालीकै जस्तो पूरा नहुने संकेत देखिएको छ । उनले सुरुमा जुन उत्साहका साथ निर्मला पन्त हत्या प्रकरण टुंगोमा पुर्याउँछु भनेका थिए, कार्यकाल करिब १२ महिना ब्यतित हुँदा बिर्सिसकेका छन् । अब उनको कार्यका करिब १० महिनामात्र छ । उनी १९ बैशाख, २०७९ अवकाश हुनेछन् ।
निर्मला पन्तका हत्यारा पत्ता लगाउन मिहीन अनुसन्धानमा जुटेका र करिब करिब दोषी पत्ता लगाउने तहमा पुगेका सूदूरपश्चिम प्रदेशका डिआईजी उत्तम सुवेदीलाई आइजीपी थापाले महानगरीय प्रहरी कार्यालयमा ट्वाइसीमा सरुवा गरेका छन् । यसले पनि निर्मला पन्तका हत्यारा पत्ता लगाउनेबारेमा उनी विस्तारै संवेदनशील हुन छाडेको त होइन भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।
डिआईजी सुवेदी निर्मला पन्तका हत्यारा पत्ता लगाउन अनुसन्धानमा तल्लीन थिए, उनी आफैं दोषी खोज्न अनुसन्धानमा जुटेका थिए, एक महिना सरुवा नभएको भए उनले केही न केही नतिजा निकाल्ने तहमा पुगिसकेको अवस्थामा उनको सरुवा भएको छ । उनले निर्मला पन्तको घटना नजिकबाट बुझिसकेका थिए । सुवेदीको ठाउँमा सरुवा भएका डिआईजी पुरुषोत्तम कँडेललाई बुझ्नै ६ महिना लाग्छ । प्रहरीको बन्दोबस्तीको सामान खरिद गर्ने आर्थिक तथा प्रबन्ध निर्देशनालयमा बसेर सरुवा भएका उनले बालिका पन्तका दोषी पत्ता लगाउन सक्ने कुरामा आशंका गरिएको छ ।
आइजीपी थापाले कम्तीमा डिआईजी सुवेदीलाई १ महिना सरुवा गर्नबाट रोकेको भए निर्मला पन्त हत्या प्रकरणमा केही न केही सफलता प्रहरीले हात पार्न सक्ने अवस्था थियो । तर गृहमन्त्री र सचिवका अगाडि अडान नै राख्न नसक्ने थापाका कारण डीआइजीको सरुवा हुँदा निर्मला पन्त प्रकरण रहस्यकै गर्भमा रहन पुगेको छ । ३ बर्षसम्म पनि बालिका बलात्कार घटनाको छेउटुप्पो पत्ता लाउन नसक्नु नेपाल प्रहरीकै लागि पनि लज्जाको बिषय बनेको छ । अपराध अनुसन्धानमा विश्वमै ख्यातीप्राप्त नेपाल प्रहरीको छविमा निर्मला पन्त प्रकरण कालोधब्बा बनिरहेको छ ।
सीआइबीको टोली पनि पठाए । डिआईजी उत्तम सुवेदीको टोलीसँग मिलेर अनुसन्धान सुरु भएको थियो । । सुवेदी आफैं पनि निरन्तर खटे । तर निर्मला पन्त घटनाको अनुसन्धानमा तल्लीन सुवेदीलाई उनले त्यसबारेमा भएको प्रगतिका बारेमा सोध्दा पनि नसोधी सरुवा गरेका छन् ।
सुरुमा आइजीपी थापाले निर्मला प्रकरणमा दोषी पत्ता लगाइछाड्ने प्रतिबद्धता ब्यक्त गरे । १४ असोज, २०७७ मा पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको जानकारी थापाले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दिएका थिए । समितिकी सभापति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धान कहाँ पुगेको छ भन्ने समितिलाई जानकारी दिन भनेपछि आइजीपी थापाले उक्त घटनाको अनुसन्धान औपचारिक र अनौपचारिक रूपमा अगाडि बढिरहेको जानकारी दिएका थिए ।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।